झापा, असार ९ । खुल्ला सिमाना र झापासंग जोडिएको इलाम जिल्लामा लागूऔषध बढ्दो अवस्थामा रहेको छ ।

विगतको तुलनामा लागूऔषधको प्रयोग र कारोबार बढ्दै गएको हो । इलाम प्रहरीका अनुसार इलाम जिल्लामा दर्ता हुने मुद्धाहरुमध्ये लागूऔषध मुख्य रहेको छ । गत आर्थिक वर्ष २०८०–०८१ मा १८ वटा मुद्धा दर्ता भई ३२ जना पुरुष, एक महिला र एक बालक गरी ३४ जना पक्राउ परेका थिए भने चालु आर्थिक वर्षको ११ महिनामा २७ वटा मुद्धा दर्ता भई ४७ जना पुरुष , २ महिला , एक बालक र एक बालिका गरी ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत आवभन्दा यस वर्ष ३३.३३ प्रतिशतले लागूऔषधका मुद्धा दर्ता बढेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । यस आर्थिक वर्षमा प्रतिवादी संख्या ३३.३३ प्रतिशत पक्राउ परेका छन् भने ५१ लागूऔषधमा पक्राउ परेका ५१ जनामध्ये १२ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । त्यस्तै २६ जना धरौटीमा छुटेका छन् भने ४ जनालाई अभिभावकको जिम्मा लगाई छाडिएको र बाँकी ९ जनामाथि अनुसन्धान भइरहेको जनाइएको छ ।

गत आर्थिक वर्ष र यस आर्थिक वर्षमा ब्राउनसुगर २५ ग्राम ९६ मिलिग्राम बरामद भएको छ । त्यस्तै गाँजा ८१६ ग्राम बरामद भएको छ भने अफिम ३ ग्राम ३९० मिलिग्राम बरामद गरिएको छ । नाईट्रोसन ४ट्याब्लेट, लोरी –२ नामक ३४ पिस,निक्लाम–१० नामक २० पिस, कोडेप नामक ८ पिस, कोइटियापिन नामक २० पिस, प्रेगाव्लिन नामक १० पिस प्रतिबन्धित औषधीसमेत बरामद गरिएको छ । यस आर्थिक वर्षमा ब्राउनसुगर तथा अन्य प्रतिबन्धित औषधी बढी मात्रामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

इलाममा लागूऔषधको समस्या चुनौति बन्दै गएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक एकनारायण कोइरालाले बताए । उनले प्रहरीको सक्रियता र बढ्दो चेकजाँचका कारण बरामद लागूऔषधको मात्रा र पक्राउ संख्या बढेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्