झापा, असार १० । करिब ४ लाख नेपाली कार्यरत कतारमा इरानको तर्फबाट मिसाइल प्रहार भएसँगै त्रास उत्पन्न भएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सो इन हमलाको की पुष्टि गर्दै इरानका तर्फबाट अल उदैद एयर बेस क्याम्पमा सानो र मध्यम दूरीको मसाइलबाट हमला भएको जनाएको छ ।

कतारको राजधानी दोहानजिक रहेको अल उदैद एयर बेस क्याम्प मध्य–पूर्वमा अमेरिकी सेन्ट्रल कमान्डको एयर अपरेशन्सको मुख्यालय हो । त्यहाँ करिब ८ हजार अमेरिकी सैनिक रहने गरेका छन् । सो
एयर बेसमार्फत बेलायतका सैनिकहरुको पनि रोटेशन हुने गरेको छ ।

इरानबाट कतारको सनैयामा रहेको अमेरिकी सैन्य अड्डालाई लक्षित गरी मिसाइल प्रहार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उक्त आक्रमण अमेरिकाद्वारा इरानका आणविक केन्द्रमा गरिएको बमबारीको बदला स्वरूप भएको जनाइएको छ ।
यस हमलापछि मध्यपूर्वका अस्थिर क्षेत्रको तनाव झन् बढ्न सक्ने आकलन गरिएको छ ।

आक्रमणको घोषणा इरानी सरकारी टेलिभिजनमार्फत गरिएको थियो, जहाँ सैन्य संगीतको पृष्ठभूमिमा ’अमेरिकाको आक्रमणको विरुद्धमा शक्तिशाली र सफल जवाफ’ भनी स्क्रिनमा देखाइएको थियो ।

आक्रमणको घोषणापछि हवाइ मार्ग बन्द गरेको केहीबेरमै दोहास्थित अल उदीद हवाइ अड्डामा हमला भएको कतारी अधिकारीहरुले जनाएका छन् ।

यसैबीच कतारले दोहामा भएको आक्रमणको निन्दा गरेको छ । तर मिसाइल सफलतापूर्वक निस्क्रिय पारिएको र कुनै पनि मानवीय क्षति नभएको सरकारी दाबी छ । कतारी अधिकारीहरूले हालसम्म आफ्ना हवाई क्षेत्र सुरक्षित रहेको जनाएका छन् ।
कतारको विदेश मन्त्रालयले इरानी क्रान्तिकारी गार्डले गरेको आक्रमणलाई ’कतारको सार्वभौमसत्ता, हवाइ क्षेत्र र अन्तर्राष्ट्रिय कानुनको खुला उल्लंघन’ भनेको छ।

इरानले इराकमा रहेको अमेरिकी सैन्य अड्डामा पनि हमला गरेको जनाइएको छ । आइतबार बिहान मात्रै अमेरिकाले इरानका तीन आणविक क्षेत्रमा बमबारी गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्