झापा , असार १० । बिर्तामोड नगरपालिकाका अरु मत्स्यपालकहरुले दर्ता गराएपनि पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी स्वयंले आफ्नो हेभन वाटर पार्क नगरपालिकामा दर्ता गराएका छैनन् ।

नगरभित्र रहेका व्यवसायिक पोखरीहरु नगरपालिकाको पशुपंछी तथा मत्स्य विकास शाखामा दर्ता गर्नुपर्ने प्रावधान रहेकोमा पूर्व नगर प्रमुख शिवाकोटीले नगराएका हुन् । यद्यपि स्थानीय सरकारबाट प्राप्त गर्नुपर्ने सेवासुविधा शिवाकोटीले प्राप्त गरिरहेका छन् ।
पशुपंछी तथा मत्स्य विकास शाखामा नगरका २५ वटा मत्स्यपालक फार्मले दर्ता गराएका छन् । कठ्ठादेखि विगाहसम्म पोखरी भएका मत्स्यपालकहरुले आआफ्नो फार्म दर्ता गराएको पशुपंछी तथा मत्स्य विकास शाखाले जनाएको छ । पूर्व नगर प्रमुख शिवाकोटीको हेभन पोखरी , विशाल राईको विशाल कृषि फार्मजस्ता ठूला मत्स्यपालकहरुले दर्ता नगराएको बताइएको छ । विर्तामोड–२ मा १६ विगाह क्षेत्रफलमा ११ वटा पोखरी बनाएर शिवाकोटीले २०७३ वैशाखदेखि माछापालन गर्दै आएका छन् ।