कुमरखोद , असार ११ । झापा गाउँपालिकाको नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०८२–८३ को वार्षिक बजेट गाउँसभाले सर्वसम्मत स्वीकृत गरेको छ ।

झापा गाउँपालिकाले आर्थिक वर्ष २०८२–८३ का लागि ५१ करोड ४२ लाख ४३ हजार ५६४ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको थियो । गत वर्षको तुलना यो आर्थिक वर्षमा १ करोड ९९ लाख ३८ हजार पाँचसय चौसठी रुपैयाँको बढी बजेट आएको हो । गत वर्ष ४९ करोड ४३ लाख ५ हजार रुपैयाँ विनियोजन भएको थियो
झापा गाउँपालिकाको सभाहलमा भएको १८औं गाउँसभामा कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गरेकी थिइन् । प्रस्तुत बजेटमा गाउँपालिकाको आयतर्फ संघीय राजश्व बाँडफाँटतर्फ रु १० करोड १७ लाख ५२ हजार ५६४ रुपैयाँ , संघीय सशर्त अनुदान रु २२ करोड ७३ लाख , संघीय समानीकरण अनुदान रु ११ करोड ३८ लाख , संघीय समपुरक अनुदान रु ७४ लाख , प्रदेश समानीकरण अनुदान रु १ करोड ७ लाख ९८ हजार , प्रदेश राजश्व बाँडफाँट रु ७१ लाख १९ हजार , घरजग्गा रजिष्ट्रेशन दस्तुर रु ५० लाख , प्रदेश सशर्त अनुदान रु ८९ लाख ७४ हजार , प्रदेश समपूरक अनुदान रु १ करोड र आन्तरिक आय रु २ करोड रुपैयाँ गरेर अनुमानित आय रु ५१ करोड ४२ लाख ४३ हजार ५ सय चौसठी रुपैयाँ विनियोजन गरिएको छ ।
गाउँपालिकाले व्ययतर्फ चालु खर्च शिर्षकमा सम्पूर्ण क्रियाकलापहरुका लागि एकमुष्ट रु ७ करोड १२ लाख रुपैयाँ विनियोजन गर्दै पूँजीगत खर्चतर्फ आर्थिक विकास रु १ करोड ३८ लाख , पूर्वाधार विकासतर्फ रु १० करोड ३२ लाख ७२ हजार , वन वातावरण विपद तथा सरसफाइतर्फ रु २६ लाख , संस्थागत विकास सेवा प्रवाह तथा सुशासनतर्फ रु ४८ लाख ३१ हजार ५६४ रुपैयाँ , सामाजिक विकासतर्फ रु ६ करोड २७ लाख ६६ हजार गरी जम्मा रु ५१ करोड ४२ लाख ४३ हजार ५ सय ६४ रुपैयाँ अनुमानित खर्च प्रस्तुत गरिएको छ ।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष थपलियाको अध्यक्षतामा भएको गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया , लेखा अधिकृत तथा सूचना अधिकारी लक्ष्मी खतिवडा , स्वास्थ्य शाखा प्रमुख प्रेम न्यौपाने , वडा अध्यक्षहरु वडा १ का राजकुमार यादव , वडा २ का हिमालकुमार चम्लागाई , वडा ३ का सुभाषलाल गणेश, वडा ४ मोहमद ताहिर , वडा ५ का कृष्णप्रसाद राजवंशी , वडा ६ का नविनकिशोर थापा , वडा ७ का सखिचन्द्र ठाकुर , कार्यपालिका सदस्यहरु , परिषद सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।