झापा, असार ११ । ठूलो परिमाणमा लागूऔषधसहित चारजना कारोबारी पक्राउ परेको झापामा फेरि दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज दिउँसो ३.३० बजे भद्रपुर वडा न.५ पोखरी टोलमा वडा प्रहरी कार्यालय भद्रपुर र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री सुनसरी रामधुनी . वडा न. ८ बस्ने १८ वर्षीय लक्ष्मण सार्की र बराहक्षेत्र वडा न. ७ बस्ने १८ वर्षकै आनन्द मगरलाई शंका लागेर चेकजाँच गरेको थियो ।
त्यसक्रममा प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिकसहित ६ ग्राम ३२ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुबै जनालाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ । थप अनुसन्धान तथा कानुनी कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
आजै दिउँसो निजी गाडीमा भारतबाट लागूऔषध ओसार पसार गर्ने चारजना कारोबारी पक्राउ परेका थिए । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी निरीक्षक लोककृष्ण दाहालको कमाण्डमा रहेको टोलीले भद्रपर नगरपालिका वडा नं ७ आनी मार्गमा बा.प्र. ०१–०२५च ०८७७ नं. को हुन्डाई कम्पनीको क्रेटा कारलाई रोकेर चेकजाँच गर्दा २०० ग्राम ३९० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
सो लागूऔषधसहित नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर १३ बस्ने वर्ष ३१ का साजन तामाङ , बेलकोटगढी नगरपालिका वडा नम्बर १ बस्ने वर्ष २० का सजिन लामा , बेलकोटगढी नगरपालिका वडा नम्बर १३ बस्ने वर्ष ३३ का दिपेश लामा र बेलकोटगढी नगरपालिका वडा नम्बर १ बस्ने वर्ष २३ का राम तामाङलाई पक्राउ परेका छन् ।