कुमरखोद , असार १२ । झापा गाउँपालिकाको अठारौं गाउँसभा सम्पन्न भएको छ । गाउँसभा समापनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा विजयी भएका दुई विद्यार्थी खेलाडीलाई नगदसहित सम्मान गरिएको छ ।

सम्मानित हुनेमा झापा गाउँपालिका वडा नं ४ मा रहेको डिल्लीराज माध्यमिक विद्यालयका विद्यार्थी महमद शेख र वडा नं ६ मा रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थी करिमुदिन मियाँ रहेका छन् । शेखले १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको कोशी प्रदेश स्तरीय ४ सय मिटर रिले दौडमा प्रथम स्थान हासिल गरी राष्ट्रिय स्तरको प्रतिस्पर्धामा छनौट भएका थिए । उनलाई नगद १० हजारसहित सम्मान गरिएको हो ।
त्यसैगरी मियाँले १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा झापा जिल्ला स्तरीय ३ हजार मिटर दौडमा तृतीय र १५ सय मिटर दौडमा प्रथम स्थानसहित कोशी प्रदेश स्तरीय प्रतिस्पर्धामा छनौट भएका थिए । उनलाई नगद ५ हजारसहित सम्मान गरिएको हो ।
झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया , लेखा अकिधृत तथा सूचना अधिकारी लक्ष्मी खतिवडा , स्वास्थ्य शाखा प्रमुख प्रेम न्यौपाने , वडा अध्यक्षहरु वडा १ का राजकुमार यादव , वडा २ का हिमालकुमार चम्लागाई , वडा ३ का सुभाषलाल गणेश, वडा ४ मोहमद ताहिर , वडा ५ का कृष्णप्रसाद राजवंशी , वडा ६ का नविनकिशोर थापा , वडा ७ का सखिचन्द्र ठाकुर , कार्यपालिका सदस्यहरु , परिषद सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।