झापा , असार १२ । झापा बिर्तामोड घर भएकी एक महिलालाई सासुले उपचार नगराई घरबाट निकाल्दा मृत्यु भएको भन्दै माइती पक्षले कार्वाहीको मागसहित उजुरी दिएका छन् ।

घरबाट निकालिएकी बितामोड नगरपालिका–३ बस्ने सुमित बि.क.की श्रीमती २४ वर्षीया सरिता बि.क.को आज माइती घर सुनसरीको रामधुनी नगरपालिका–७ कुमारखतमा मृत्यु भएको हो ।
सरितालाई उनको सासु राधिका गजमेरले तीन दिनअघि घरबाट निकाली माइत पुर्याएर आएकी थिइन् । सरिता रिङ्गटा लाग्ने ,टाउको दुख्ने बिरामी भई उपचारको लागि उनको सासु राधिकाले विर्तासिटी अस्पताल बिर्तामोडमा लगेर चेकजाँच गराउँदा अबैध सम्बन्धबाट डेढ महिनाको गर्भवती देखिएको थियो ।
त्यसपछि सासुले उनलाई घरबाट निकालेर माइत पुर्याएकी थिइन् । सरिताका श्रीमान् विगत दुई बर्षदेखि दुबईमा रहेका छन् । सरिताको मृत्युपछि माइती पक्षले अनुसन्धान र कार्वाहीको माग गर्दै उजुरी दिएको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए । उनले कानुनी प्रकृया पुरा गरी मृतकको शवलाई पोस्टमार्टमको लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको जानकारी दिएका छन् ।
सरिताको मृत्यु हुनु एक दिनअगावै माइती पक्षले हिजो इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका थिए । माइती पक्षले हिजो ठाडो निवेदन दिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले जानकारी दिए । मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि कानुनी कार्वाही अघि बढाइने उनको भनाई छ ।