बिर्तामोड, असार १३ । यतिखेर भारत बिहारका लागूऔषध तस्करहरु नेपालमा लागूऔषध ओसार पसार गर्न सक्रिय देखिएका छन् ।

झापा जिल्लाका केही ‘प्वाइन्ट’हरू तस्करका लागि लागूऔषध नेपाल छिराउने सजिलो बाटोको रुपमा रहेको छ । खासगरी बिहार, किशनगञ्जका तीन दाजुभाई अहिले नेपालका सुरक्षा निकायका व्यक्तिसँग राम्रो हिमचिम बढाएर बिर्तामोड, धुलावारी, काँकरभिट्टा, दमक, सुरुङ्गा, बनियानी, भद्रपुर हुँदै राजधानी काठमाडौं तथा लगभग देशका मुख्य शहरहरूमा प्रतिबन्धित ब्राउनसुगरको ‘सप्लाइ चेन’ बनाउन सफल भएको बुझिएको छ ।
कुर्लिकोट, किशनगंज बिहार निवासी आर्यन भनिने ३० वर्षीय सुभान अली ब्राउनसुगर डेलिभरी गर्ने काममा अगाडि देखिएका छन् । उनले ब्राउनसुगर ल्याउने र आफ्नो घरमा ५० र १०० ग्रामको प्याकेट बनाएर गलगलिया, ठाकुरगंज, बतासी, खोरीबारी पानीट्याङ्की र नेपालको बिर्तामोड, बनियानी, भद्रपुर आदि क्षेत्रमा बेच्न पठाउने गरेका छन् ।
उनका दुई भाईहरु डाक्टर भनिने तहसीन र साजिदले यो काममा सहयोग गर्ने गरेका छन् । आर्यन ब्राउनसुगर तस्करीको आरोपमा जेल गएका व्यक्ति हुन् । उनलाई खोरीबारी प्रहरी चौकीको मुद्दा नम्बर ३६÷२४ मिति १० फेब्रुअरी २०२४ मा एनडीपिएस को धारा२१(सी)÷२२(सी) अन्तर्गत जेल पठाइएको थियो । यसबाहेक, खोरीबारी प्रहरी चौकीको मुद्दा नम्बर १६७÷२४ मिति १०.०६.२४ मा उनीविरुद्ध युएक÷एनडीपिएस ऐन ४१६–२१ (सी), २२ (सी), २९ (०१) अन्तर्गत मुद्दा दर्ता गरिएको छ । तर हाल उनलाई कलकत्ता उच्च अदालतले जमानत दिएको छ ।
गत अप्रिल २०२४ मा कुर्लिकोट प्रहरी चौकीले ब्राउनसुगरको अवैध तस्करी गर्ने एक व्यक्तिलाई पक्राउ गरी सोधपुछका क्रममा तहसीनले विगत धेरै महिनादेखि ब्राउनसुगर खरिद गरिरहेको खुलासा भएको थियो ।



