झापा, असार १५ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाका वडाध्यक्ष सदनकुमार साँवाको निधन भएको छ ।

हिजो दिउँसो ४;३० बजे ५० वर्षीय साँवा एक्कासि बेहोस भएपछि उनका श्रीमती र छोराले उपचारको लागि मिक्वाखोला गाउँपालिकाको एम्बुलेन्समा राखेर जिल्ला अस्पताल ताप्लेजुङतर्फ लाँदै गर्दा लप्सी बोटेमा पुग्दा उनको निधन भएको हो ।मृतक पहिलादेखि नै मिर्गौला , सुगर,ब्लड प्रेसरको बिरामी रहेका थिए ।
शिक्षक पेसामा संलग्न साँवा त्यसबाट अवकाश भएपछि २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । दुवै मिर्गौलामा समस्या भएका उनलाई केही समयअघि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले घरमै आराम गर्नेगरी पठाएको थियो ।
साँवा असार ११ गतेसम्म सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए । साँवा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा उनले विद्यार्थीहरुसँग अन्तरक्रिया गरेको गाउँपालिका उपाध्यक्ष डण्डु शेर्पाले बताए । उनका अनुसार शुक्रबारदेखि भने औपचारिक कार्यक्रममा सहभागी हुन सकेका थिएनन् ।