झापा, असार १५ । पर्याप्त वर्षा नहुँदा असार १५ लागिसक्दा समेत झापामा धुमधामले धान रोपाइँ हुन सकेको छैन ।

विगतको तुलनामा यस वर्ष निकै कम मात्रामा रोपाइँ भएको हो । गत वर्ष असार १५ सम्म झापामा १२ प्रतिशतसम्म रोपाइँ भइसकेको थियो । तर यस वर्ष मुश्किलले ८ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिए । उनले पर्याप्त वर्षा नहुँदा किसानहरुले धुमधामले खेती गर्न नपाएको र मोटर हुने किसानहरुले मात्र सामान्यरुपमा रोपाइँ गरेको जानकारी दिए ।

एक लाख ६० हजार छ सय हेक्टर क्षेत्रफलमा फैलिएको झापामा खेतीयोग्य जमिन ९८ हजार सात सय १६ हेक्टर रहेको छ । त्यसमध्ये ७५ हजार ५५९.१८ हेक्टरमा धान खेती हुने गरेको सूचना अधिकारी भण्डारीले जानकारी दिएका छन् । झापामा ५० दशमलव ५३ प्रतिशत भूभागमा सिँचाइ सुविधा पुगेको छ भने बाँकीमा आकाशे पानीको भरमा खेती हुँदै आएको छ ।

आज असार १५ झापामा पनि धान दिवस मनाइँदैछ । २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका धेरै मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता नेपालीमा समाजमा रहेको छ ।

यस वर्ष असार मध्यसम्म पनि देशका सबै ठाउँमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको दाबी गरेको छ ।

असारमा कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अरु पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्