झापा, असार १५ । केही वर्षअघि असार १५ मा कृषि मन्त्रालयका कर्मचारीहरु धानको बीउको माला लगाएर अतिथि बनेपछि त्यसको निक्कै नै आलोचना भएको थियो । त्यही आलोचनाका बीच सत्तारुढ नेकपा एमालेले झापामा धानको बीउको माला अतिथिलाई लगाइदिएर यस वर्ष धान दिवस मनाएको छ ।

एमालेले मेचीनगर र बाह्रदशीमा धानको बीउको माला अतिथिलाई लगाइदिएको हो । नेकपा एमाले मेचीनगर कमिटीले आयोजना गरेको कार्यक्रममा एमाले केन्द्रीय सदस्य रविन कोइराला प्रमुख अतिथि थिए । मेचीनगर–७, जोरसिमलस्थित नरपति काफ्लेको खेतमा एमाले मेचीनगरले धानको बीउको माला लगाएर र रोपेर दिवस मनाएको हो ।

त्यस्तै नेकपा एमाले बाह्रदशीको आयोजना तथा अखिल नेपाल किसान महासंघको व्यवस्थापनमा २२औँ राष्ट्रिय धान दिवस कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले बाह्रदशीका अध्यक्ष अनिल सापकोटाको अध्यक्षता एवम् पार्टीका केन्द्रीय कमिटी सदस्य हरिबहादुर राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा पार्टी जिल्ला कमिटी अध्यक्ष प्रेम गिरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका अतिथिहरुलाई धानको बीउको माला लगाइदिएको थियो । सो कार्यक्रम बाह्रदशी २ स्थित जिल्ला कमिटी सदस्य बिन्दा निरौलाको खेतमा भएको थियो ।

त्यस्तै २२औं राष्ट्रिय धान दिवस शिवसताक्षीमा पनि मनाइएको छ। नेकपा एमाले ७ नं वडा कमिटीकी अध्यक्ष पुष्पा सापकोटाको खेतमा नौमती बाजागाजासहित सामूहिक धान रोपाइँ गरिएको हो ।नेकपा एमाले शिवसताक्षी, अखिल नेपाल किसान संघ, अखिल नेपाल महिला संघ तथा रिटर्नी फेडेरेसन नेपाल शिवसताक्षीको संयुक्त आयोजनामा १५ कठ्ठा क्षेत्रफलमा सामूहिकरूपमा धान रोपिएको अखिल नेपाल किसान संघ शिवसताक्षीका अध्यक्ष बलबहादुर राईले जानकारी दिए।
सो कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद एलपी साँवा लिम्बू रहेका थिए ।

त्यस्तै जिल्लाभरिका कांग्रेस नेता कार्यकर्ताहरुले हल्दिवारीमा भेला भएर धान दिवस मनाएका छन् । नेपाल किसान महासंघ झापाको आयोजना तथा नेपाली काँग्रेस हल्दिबारी गाउँ समितिको सहआयोजनामा हल्दिबारी– ४ निवासी नेपाली कांग्रेस हल्दिबारीका उपसभापति होम चुडालको खेतमा बेठी (नौमती) एवं च्याब्रुङ बाजागाजासहित धान दिवस मनाइएको हो । चुडालको खेतमा खनजोत, बाउसे, बीउ उखेलेर रोपाइँ गरी धान दिवस मनाइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले धान रोपेर दिवसको उद्घाटन गरेका थिए ।

त्यस्तै दमक ३ मा कांग्रेसले असार पन्ध्र तथा राष्ट्रिय धान दिवसको अवसर पारेर शोकमा रहेको एक परिवारको खेतमा रोपाइँ गरिदिएको छ । स्थानीय एक जग्गाधनीसंग अधिया खेती गर्न जग्गा लिएका चन्द्रबहादुर विश्वकर्माको खेतमा कांग्रेसले धान रोपाइँमा लागेको सम्पूर्ण लागत व्यहोर्दै रोपाइँमा सहभागिता जनाएको हो । बिश्वकर्माकी बुहारी कमलाको निधन भएको छैठो दिनमा समवेदना दिन पुगेको कांग्रेस नेता कार्यकर्ताहरुको टोलीले विश्वकर्माको ११ कठ्ठा खेत हिल्याएर रोपाइँ गरिदिएको कांग्रेस दमक ३ का सभापति गोपाल गिरीले जानकारी दिए ।

त्यस्तै राप्रपा बिर्तामोड नगर समितिको आयोजनामा राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने कार्यक्रम गरिएको छ । नेकपा माओवादी केन्द्र बिर्तामोड कमिटीले हिजै रोपाइँ कार्यक्रम गरेको थियो । राजनीतिक दलसंगै विभिन्न कार्यालय र संघ संस्थाहरुले धान दिवस मनाएका छन् ।

वीरता जेसीजले बिर्तामोड ३ मा रोपाइँ गरी धान दिवस मनाएको छ। वीरता जेसीजका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका–३ का वडा अध्यक्ष मदन बुढाथोकी रहेका थिए ।

अर्जुनधारा नगरपालिकाले असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसरमा रोपाइँसँगै नगरका पाँच जना उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरेको छ । अर्जुनधारा नगर कृषि विकास शाखाको आयोजना तथा शनिश्चरे साना किसान सहकारी संस्थाको ब्यवस्थापनमा अर्जुनधारा–११ स्थित सालवारीमा बिभिन्न कार्यक्रमसहित खाद्यबालीतर्फ बिष्णुप्रसाद भण्डारी, नगदेबालीतर्फ लक्ष्मीप्रसाद पोखरेल, तरकारीवालीतर्फ कमल अधिकारी, बीजबृद्धितर्फ गोकर्ण कार्की र मौरीतर्फ रामचन्द्र भण्डारीलाई जनही नगद आठ हजार रुपैयाँसहित सम्मान तथा पुरस्कृत गरिएको हो । नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, उप–प्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलचन रिमाल, अर्जुनधारा–११ का वडाध्यक्ष खगेन्द्र इङनामलगायत रोपाइँमा सहभागी भएका थिए ।


त्यस्तै नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को तेस्रो व्यवसाय एनएमसी एग्रोफार्म र कृषि ज्ञान केन्द्र झापाको संयुक्त आयोजनामा विशेष कार्यक्रमसहित २२औं राष्ट्रिय धान दिवस मनाइएको छ । मेचीनगरस्थित एनएमसी एग्रो फार्ममा मेसिनबाट धान रोपेर दिवस मनाइएको हो ।

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मेकानिकल राइस ट्रान्सप्लान्टरबाट रोपाइँको शुरुवात गरेका थिए । मेचीनगर १४ कमलवारीस्थित एनएमसी एग्रो फार्मले धान दिवसका लागि करिब १२ कठ्ठा जमिन तयारी गरेको थियो ।

त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाईले ग्रासल्याण्ड एग्रो फार्म प्रा.लि. कचनकवलसंगको सहकार्यमा मेकानिकल राइस ट्रान्सप्लान्टरबाट रोपाइँ गरेको छ । यस वर्ष धान दिवसमा देखिएका दृष्य र यथार्थभन्दा नाटकीय कार्यक्रमले किसानको अपमान गरेको इन्द्रप्रसाद ओलीले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्