बिर्तामोड, असार १५ । महेन्द्र रत्न माध्यमिक विद्यालय बिर्तामोडले माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्तीर्ण अर्थात् ग्रेडेड विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएको छ।

बिर्तामोड ५ मा अवस्थित विद्यालयको नमुना भवनमा भएको उक्त कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा २०८१ मा उत्तीर्ण हुने र उच्च जीपीए प्राप्त गर्ने विद्यार्थी र तिनका अभिभावकहरूको उपस्थिति रहेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचरण शिवाकोटीको सभापतित्वमा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी, विद्यालय व्यवस्थापन समिति सदस्य श्रीप्रसाद न्यौपाने, नेत्रप्रसाद खरेल, शिक्षक अभिभावक संघका अध्यक्ष यामप्रसाद भट्टराई, अभिभावक पदमप्रसाद बास्कोटा, विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेललगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए। विद्यालयको इतिहासमा पहिलोचोटि ४ जीपीए प्राप्त गर्ने विद्यार्थी विद्या दाहाललगायत चेतन गौतमले विद्यार्थीहरूको तर्फबाट आफ्ना अनुभवहरू राखेका थिए। विद्यालयका सहायक प्रधानाध्यापक केशव प्रसाईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन विद्यालयका अर्का सहायक प्रधानाध्यापक एवं जीव विज्ञान विषय शिक्षक तुलसीराम खरेलले गरेका थिए।
२०८१ सालको एसईई परीक्षामा विद्यालयले ७१ प्रतिशत परिणाम प्राप्त गरेको छ। ११ जना विद्यार्थीहरूले ३.६ जीपीए बढी अङ्क प्राप्त गर्न सफल भएका छन् भने जम्मा १०७ जना विद्यार्थीहरु कक्षा ११ वा माथिल्ला विभिन्न विषय र संकायमा पढ्नको लागि योग्य बनेका छन्। ४३ जना विद्यार्थीहरू श्रावण अन्तिम सातादेखि सुरु हुने ग्रेडवृद्धि परीक्षामा सामेल हुने प्रधानाध्यापक खरेलले जानकारी दिएका छन् ।
यसपटकदेखि विद्यालयको भर्खरै नवनिर्मित नमुना भवनमा कक्षा ११ र १२ का कार्यक्रमहरू सञ्चालन हुने सहायक प्रधानाध्यापक केशव प्रसाईले जानकारी दिए। विद्यालयमा प्रयोगशाला कार्य , पुस्तकालय, विद्यार्थी परामर्श, साईकोसोसियो परामर्श, वृत्ति विकास सम्बन्धी परामर्श, खेलकुद, शैक्षिक भ्रमण, परियोजना कार्यहरू, सूचना प्रविधि युक्त शिक्षण सिकाई आदि विधिमार्फत विद्यार्थीको चौतर्फी विकास गरिने शिक्षक इन्दिरा वस्ती बताउँछिन्। विद्यालयले थप अतिरिक्त कक्षाहरू सञ्चालन गरेर कमजोर विद्यार्थीको स्तर माथि उठाउन सक्दो प्रयास गरिरहेको शिक्षक गोविन्दप्रसाद भण्डारीले बताए।
विद्यालयले भौतिक र शैक्षिक रुपमा फड्को मारिसकेको र विद्यालयले पूर्वको रत्न महेन्द्र रत्नको रुपमा पहिचान बनाइसकेको अनुभव शिक्षक युवराज कट्टेललगायतले गरेका छन्। विद्यालयमा विद्यार्थी, शिक्षक र अभिभावक तीन प्रमुख अङ्ग रहनेमा अब उक्त विद्यालयमा भूतपूर्व विद्यार्थी समाज चौथो स्तम्भको रुपमा उदाएको समाजका उपाध्यक्ष मदनगोपाल सुब्बा बताउँछन।
उक्त समाजले विद्यालयको भौतिक पूर्वाधार निर्माण, अतिरिक्त क्रियाकलाप, विद्यार्थीका विशेष क्षमताको पहिचान गरी क्षमता विकास गराउने, शिक्षक तथा पूर्व शिक्षक सम्मान, अक्षय कोषको व्यवस्थापन, चिसोपानी प्लान्ट, फिल्टर प्लान्ट, फोहोर व्यवस्थापन, आदि कार्यमा सहयोग पु¥याइरहेको छ।
विद्यालय परिसरको अगाडि भद्रपुर रोडको किनारमा फुलबारी निर्माण तथा वृक्षारोपण गरी चौतारा निर्माण गरिएको जसले विद्यालयको परिसर सफा सुन्दर र हरियाली युक्त बनाउन सहयोग गरेको वडाध्यक्ष मदन बुढाथोकीले बताए।
अटिजम स्रोत कक्षा समेत सञ्चालन गरेको विद्यालयले कक्षा ११÷ १२ मा विज्ञान, व्यवस्थापन, मानविकी तथा शिक्षा समूहका विषयहरूमा नयाँ भर्ना खुल्ला गरेको छ। विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अङ्ग्रेजी र नेपाली दुबै माध्यममा पठनपाठन हुँदै आइरहेको छ।