कुमरखोद , असार १६ । जनप्रतिनिधि र कर्मचारीहरुले झापा गाउँपालिकालाई नमूना पालिकाको रुपमा विकास गरिरहेको दावी गरिरहँदा गाउँपालिकाका ८७ प्रतिशत सामुदायिक विद्यालयका विद्यार्थीहरु एसईईमा फेल भएका छन् ।

कक्षा ८ को परीक्षाजस्तै झापा गाउँपालिकामा एसईईको परीक्षा समेत सुधारोन्मूख देखिएन । झापा गाउँपालिकाका सामुदायिक विद्यालयहरुको नजिताले धेरै नै निराश बनाएको अभिभावकहरुले बताएका छन् । झापा गाउँपालिकाका ५ वटा सामुदायिक विद्यालयका २५१ जना विद्यार्थीहरु एसईई परीक्षामा सहभागी भएका थिए । त्यसमध्ये मात्र ३५ जना उत्तीर्ण भएका हुन् । करिव ८७ प्रतिशत विद्यार्थीहरु फेल भएका छन् ।
यो कुराबाट प्रष्ट हुन्छ कि सामुदायिक विद्यालयमा नाम मात्रको पढाई हुन्छ । झापा गाउँपालिकामा ५ वटा मावि स्तरका सामुदायिक विद्यालयहरु रहेका छन् । जहाँ कक्षा १ देखि १२ सम्म अध्यापन हुन्छ । झापा गाउँपालिकाले शिक्षा क्षेत्रमा अरु पालिकाको तुलनामा धेरै नै लगानी गरेको देखिएको छ तर त्यो लगानी बालुवामा पानी हालेसरह भएको छ ।
झापा गाउँपालिकाको शिक्षा शाखाले विद्यालयबाट संकलन गरी पालिकाभरिका विद्यालयको नतिजा सार्वजनिक गरेको छ । डिल्लीराज माविका ७३ मध्ये ११ जना , जनता माविका १०७ मध्ये १३ जना, जनकल्याण माविका २७ मध्ये ५ जना, कुवाडी देवी माविका २४ मध्ये ३ जना र महेन्द्र माविका २० मध्ये मात्र ३ जना उत्तीर्ण भएका छन् ।
तर संस्थागत विद्यालयहरुको एसईईको नतिजा भने सन्तोषजनक देखिएको छ । झापा गाउँपालिकामा मावि स्तरका ७ वटा संस्थागत विद्यालयहरु रहेका छन् । संस्थागत विद्यालयतर्फ सेन्ट जेभियर्स स्कुल सडकवारी पालिकाभरि प्रथम भएको छ । सो विद्यालयले ९५.६५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको हो । सो विद्यालयबाट एसईई परीक्षामा २३ जना विद्यार्थी सहभागी भएकोमा २२ जना उत्तीर्ण भएका छन् । त्यसैगरी चन्द्रज्योति माविका ४० मध्ये ३४ जना, जय पाथिभरा माविका ३४ मध्ये २९ जना, साउथ होराईजनका १४ मध्ये ८ जना, गौतम बुद्ध माविका ३ मध्ये २ जना, टाईनी टट्स माविका ७ मध्ये ४ जना र वण्डर लाइफ एकाडेमीका १४ मध्ये १२ जना उत्तीर्ण भएका छन् ।
झापा गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवनप्रसाद ढकालका अनुसार गत वर्षको तुलनामा यसवर्ष एसईई परीक्षाको नतिजा केही सुधारोन्मूख देखिएको छ । गत वर्ष केहि विद्यालय एसईई परीक्षामा निल भएका थिए । एसईई नतिजा सन्तोषजनक नरहेतापनि केही मात्रामा शैक्षिक गुणस्तर सुधार भएको ढकालले बताए । उनले विद्यार्थीहरु नियमित विद्यालय नआउनु , शिक्षकहरु अध्यापनमा जिम्मेवारी नबन्नु ,विद्यालय प्रशासन फितलो हुनु ,अभिभावकहरुले पनि जिम्मेवारी निर्वाह नगर्दा उत्कृष्ट नतिजा नआएको बताए ।