झापा, असार १६ । विद्यार्थीहरुलाई यौन दुर्व्यहार गरेको आरोपमा इलामका एक शिक्षक पक्राउ परेका छन् ।

यौन दुर्व्यहारको आरोपमा इलाम माई नगरपालिका–२ शितलीस्थित हरियाली रेशम शैक्षिक सार्वजनिक गुठी नामक स्कुलका संस्थापक सोही ठाउँ बस्ने ५२ वर्षीय खेमराज ढकाल पक्राउ परेका हुन् । कक्षा ६ र ७ मा अध्ययनरत बालिकाहरुलाई बिभिन्न किसिमको प्रलोभन र डर त्रास देखाई यौन दुर्व्यहार गरेको जानकारी आएपछि प्रहरी चौकी लोदिया दानाबारीबाट प्रहरी नायव निरीक्षक सूर्य मोक्तानको कमाण्डमा ४ जनाको टोली खटिएर ढकाललाई नियन्त्रणमा लिएको हो ।
उनलाई पक्राउ गरी प्रहरी चौकी लोदिया दानाबारीमा ल्याई राखिएकोमा पीडित पक्षका करिव सयजना जना प्रहरी चौकी दानाबारी आई कालो मोसो दल्नुपर्ने माग गरेका थिए ।
स्थिति तनावपूर्ण बनेपछि प्रहरी चौकी दानाबारीबाट प्रहरी नायव निरीक्षक मोक्तानको कमाण्डमा १२ जना, प्रहरी चौकी महमाईबाट ३ जना गरि १५ जना र सशस्त्र प्रहरीको सशस्त्र प्रहरी नायव निरीक्षक बज्रलाल तामाङको कमाण्डमा ७ जनाको टोली खटिएको थियो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक संजिव बोगटीको कमाण्डमा १० जनाको थप टोली खटिएको थियो । आन्दोलित अभिभावकहरु राति अबेलासम्म प्रहरी चौकी अगाडि बसेका थिए ।
आरोपित शिक्षकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले बताएका छन् ।