
पारी क्षितिजबाट उठेर आएको बादलले निरन्तर मनसुन झारेर जमिनको सतहमा हिलाम्मे बनाएपछि पृथ्वीको गर्भबाट निस्किएका मूलसँग जोडिएर थपिँदै थपिँदै अविरल बगिरहेको निष्कलङ्क नदी एउटा विशाल सागरमा परिणत भएझैँ, अक्षर नै अक्षरहरूको समूह गठन गरेर शब्द निर्माण गर्दै अविचल रूपमा शब्दको खेती गर्ने र शब्दहरूको एउटा अमर सागर बनाउन निरन्तर प्रयास गरिरहने युवा कवि नुरज भट्टराई नदी र प्रथम कृति शब्दखेतीलाई सर्वप्रथम हार्दिक बधाई !
माईजोगमाई गाउँपालिका ५ नामसालिङ इलाममा जन्म भएर हुर्किदै स्नातक तह सम्मको अध्ययनलाई सफल गरी रङको कुचीसँग सधैँ साइँनो गाँस्दै सूर्योदय नगरपालिका फिक्कललाई कर्मथलो बनाएर बस्ने कवि पूर्वोत्तर भारत असम, सिक्किम, दार्जिलिङ, मिरिक, सिलिगुडीलगायत नेपालको मेचीदेखि महाकालीसम्म नेपाली साहित्यको विभिन्न विधामा आबद्ध संघ संस्थाहरू, रेडियोमा साहित्यिक कार्यक्रम तथा सामाजिक सञ्जालका हरेक माध्यमहरूमा हुनेगरेका साहित्यिक गतिविधिलाई नियाल्ने विश्व समुदायबिच परिचित बन्न सक्षम भएका व्यक्ति हुन् नुरज भट्टराई ।
पहिलो कृति शब्दखेती कविता संग्रह प्रकाशन गरेर नेपाली साहित्य आकाशमा स्रष्टाको रूपमा जोडिएका कविको यो पुस्तक नेपाली साहित्यको छन्द कविता समस्यापूर्ति विधामा एउटा खम्बा बन्नसक्ने पूर्ण विश्वास गर्न सकिन्छ । पुस्तक सानै आकारको भए पनि यसमा ५१ वटा निकै वजनदार कविताहरू समावेश गरिएको छ। एउटा प्रकाशकीय लेख, पाँचवटा विशिष्ट शुभकामना र लेखकको आफ्नो कुरा सुरुवातमा राखिएको पुस्तकको अन्तिममा कविको सम्पूर्ण वैयक्तिक विवरण र आबद्धता राखिएको छ ।
शब्दखेतीभित्र प्रवेश गर्दा त्यहाँ उनिएका पुष्प हार झैँ शब्दमालाले पाठको मनलाई भोकतिर्खा बिर्साउने गरी तानेको छ। सिलसिला मिलाएर राखिएका कविताहरूको गाम्भीर्यतामा डुबेपछि हतपत निस्कन मन लाग्दैन।
बाटौँ सारा भुवनभरि नै काव्यको एक डोरी
हाम्रो इच्छा सफल बनियोस् सम्झना नित्य जोडी
धर्ती जस्तो अमर कविता लेख्नुको जोश रङ्ग
आयो पञ्चम् कुहुकुहु गरी छन्दको यो तरङ्ग ।
के हुन् वर्णहरू तथापि यसमा त्यो ह्रस्व वा दीर्घ के
के हुन् काव्य तथा कथा र कविता भाषा र आख्यान के
के व्युत्पत्ति समास धर्म नबुझी शब्दार्थ बन्ने भयो
राम्रो भन्नुभयो महोदय अहो ! हूँ भ्यागुतो कूपको
सुनौला गरामा मैक धान कोदो
फले झैँ सुधामा कथा काव्य थुप्रो
ढकाऊँ कि पृथ्वी नयाँ वर्ण रोपी
सधैँ रम्न पाऊँ गरी शब्दखेती।
यसरी शब्दखेतीले सर्जकहरूलाई सिर्जनामा रमाउन शब्दको खेती गर्न र सिर्जना फलाउन उत्प्रेरित गर्दछ अक्षरबाट शब्द , शब्दबाट वाक्य र वाक्यबाट काव्य निर्माण गर्न अभिप्रेरित गर्दछ। कविताले कतै देश बोलेको छ कतै भेष बोलेको छ, प्रकृतिसँग चुर्लुम्म डुबेर निकै मजाले पौडी खेल्न सकेको छ भने कहिले मरुभूमिभित्र पुगेर पनि चट्टान ठडिए झैँ ठिङ्ग उभिन भ्याएको छ ।
नेपाली घर स्वर्ग हो हृदयमा हेर्ने कला भैदिए
हामी हौँ मनुका प्रजा भुवनमा बुझ्ने कला भैदिए
हाम्रा छन् वशमा उदात्त गरिमा पूर्खा नसोधेपछि
बाटो लाग्छ हरेक राष्ट्रसपना माटो नलागेपछि
शिरको तलको वरको परको
बनिऔँ लहरा अब यै वनको
नभनोस् कसले पनि छिः नभनोस्
नवजाँगरमा अब देश बनोस् ।
एकै नाता विषय रङका फूलबारी सजाई
बाँचेका छौँ भुवनभरि नै एक माला बनाई
गोर्खा बर्मा वरपर जहाँ देखिए त्यो म नै हो
मेरो टोपी म र हृदयको चेतना उच्चता हो
डाँडा र पाखा हरियो छ बस्ती
वर्षौं भयो यी ऋतुराज मस्ती
ढुङ्गा र माटो पनि देवता भो
आफ्नै छ संसार विचित्र हाम्रो
यो धर्ती अमरावती छ जन हो सोचे नयाँ सृष्टि हो
यै आँखा अझ सत्य हो भुवनमा हेरे नयाँ दृष्टि हो
बाधा छैन अनन्त छन् सफर झन् उड्ने कला फेरिए
बाचौँ फूल समान यो प्रकृतिमा फुल्ने इरादा भए ।
माथिका श्लोकहरूबाट कविले देशप्रतिको गहिरो भाव देशप्रेम र राष्ट्रियतालाई झल्काउने प्रयास गरेका छन् । हाम्रो देश स्वर्ग समान छ, हामीले चिन्नुपर्छ र देशलाई आफ्नो ठाउँबाट सकेसम्म योगदान गर्नुपर्छ भन्ने कुरा आफ्नो सिर्जनामार्फत कविले उठान गरेका छन् ।
हिलो मैलो बर्खा हिउँद बटुली अन्न रसिलो
खनी खोस्री खाने असल पसिना दिप्त कण हो
जहाँ मोती फल्ने रहर करमा उर्वर अहो
न हेपौँ आस्थाको सगर भरि ऊ स्वर्ग सरि हो
भूमध्य शून्यरेखा अक्षांश नाप्न सक्छु
देशान्तरादि सिङ्गो पृथ्वी छिचोल्न सक्छु
खोल्सा नदी समुद्री बाटो किनार मेरो
वर्षा भई म बाँचूँ इच्छा छ यही मेरो
म फूल एक कोपिला उदात्त बाग रोज्दछु
सदा उचाइ भावमा घुमी सुगन्ध छर्दछु
नहेर सानु अर्थमा अनन्त काव्य बोल्दछु
सधैँ म जोर हातले नमामि मातृ भन्दछु।
कविले आफ्नो कृतिमा कतै कतै अलिक झिनो मसिनो व्यङ्ग्य पनि पोख्न भ्याएका छन्, देशमा व्याप्त कुरीति, कुसङ्गति, राष्ट्र संयन्त्रमा मौलाएको भ्रष्टाचार र अराजकता माथि पेचिलो वाण प्रहार गरेका छन् । त्यति मात्र होइन हरेक मानिसलाई असल मानव बन्नका लागि विश्व समुदायमा केही न केही राम्रो गर्नैपर्छ भन्ने सन्देश कवितामार्फत व्यक्त गरेका छन् ।
संस्कार संस्कृति र हाम्रा मौलिक मूल परम्पराहरूलाई आत्मसात गर्दै असल कर्ममा सदैव लागिपर्न समग्र मानव समुदायलाई प्रेरणा दिलाएका छन् ।
अनेकौँ अनुभवबाट खारिएका लामो समयदेखि साहित्यमा साधनारत भएर पनि आफ्नो कृति लिएर पहिलो पटक नेपाली साहित्य जगतको खुड्किलामा चढ्न थालेका कवि भट्टराईको आगामी दिन अझ सशक्त र परिष्कृत बन्न सकोस् उच्चकोटिको जीवन यापनको लागि अनन्त शुभकामना व्यक्त गर्दछु । जय साहित्य !