झापा, असार १६ । बिर्तामोडका ९ जना विद्यार्थीहरुले एसईई परीक्षामा फोर जीपीए ल्याएका छन् ।

झापाबाट जम्मा ३१ जनाले फोर जीपीए ल्याएकोमा त्यसमध्ये ९ जना बिर्तामोडका हुन् । जिल्लाभरि सबैभन्दा बढी बिर्तामोड २ को मोहनमाया माध्यमिक विद्यालयका चार जनाले फोर जीपीए ल्याएका छन् । मोहनमायाका अनुपमा निरौला , अनुराग लुइटेल , अश्विन लुइटेल र एलिना तिम्सिनाले फोर जीपीए ल्याएका हुन् ।

त्यस्तै बाल्मीकि एजुकेशन फाउन्डेशन बिर्तामोडका दुईजनाले फोर जीपीए ल्याएका छन् । सर्वोत्कृष्ट अंक ल्याउनेहरुमा अंकित कटुवाल र ह्रदयप्रसाद शिवाकोटी रहेका छन् ।

बिर्तामोडकै अनारमनी लिवर्टी स्कुलका सरोज निरौला र सौरव अग्रवालले पनि फोर जीपीए ल्याएका छन् । त्यस्तै महेन्द्ररत्न मावि बिर्ताबजारकी विद्या दाहालले पनि फोर जीपीए ल्याएकी छन् ।

बिर्तामोडका एउटा सामुदायिक विद्यालयको नतिजा भने निल भएको छ । पंचरत्न माध्यमिक विद्यालय बिर्तामोड २ चैतुवारीको एसईई परीक्षाको नतिजा निल भएको हो । दश जनाले परीक्षा दिएकोमा दशैजना अनुतीर्ण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्म लक्सम्बाले बताए । उनले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने खाँचो देखिएको बताए ।

बिर्तामोडका सामुदायिक र संस्थागत गरी ४८ वटा विद्यालयका विद्यार्थीहरु एसईई परीक्षामा सहभागी भएका थिए । नगरभरिका विद्यालयको नतिजा निकाल्ने कार्य भइरहेको बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्