झापा, असार १७ । झापा शिवसताक्षी नगरपालिका ९ बस्ने १९ वर्षीय रोमन थापाको मृत्यु शंकास्पद देखिएपछि दाहसंस्कारको तयारी रोकेर शवलाई पोस्टमार्टमको लागि धरान पठाइएको छ ।

असार १४ गते बिहान रोमन थापा बिरामी भई उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो । त्यहाँ उपचारका क्रममा बिहान १०ः३० बजे उनको मृत्यु भएको थियो । सोही दिन शव आफन्तले बुझी घरमा ल्याई राखेका थिए ।
भोलिपल्ट दाहसंस्कार गर्नको लागि तयारी गर्दा रोमनको केही दिन अगाडी तत्काल पहिचान खुल्न नसकेका व्यक्तिहरुसँग झगडा भएको र सोही झगडामा कुटपिट भएको भन्ने अपुष्ट खबर प्राप्त भएको थियो । त्यो कुरा सुनेर परिवारले शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएका थिए । तर प्रादेशिक अस्पतालले पोस्टमार्टम गर्न असमर्थता जनाएपछि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले बताए । उनले अहिलेसम्म कसैमाथि उजुरी नपरेको र उजुरी परेपछि कार्वाही अघि बढाइने जानकारी दिए । पोस्टमार्टम रिपोर्ट नआएसम्म परिवारले रोमनको अन्त्येष्टि गरेका छैनन् ।