झापा,असार १७ । आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुदका लागि ३० खेल दर्ता भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ।

मंगलबार पत्रकार सम्मेलन गर्दै कमिटीले असार १६ गतेसम्म एसियाली खेलकुदका लागि खेलहरू दर्ता गर्न दिइएको समयसिमा भित्र ३० वटा खेल दर्ता भएको जानकारी दिएको हो।
युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषदलाई खेलहरू दर्ता गर्नका लागि पत्राचार गरे पनि कुनै प्रतिक्रिया नआएको कमिटीका महासचिव राजीव श्रेष्ठले बताए। दर्ताका लागि सिफारिस नभएको खेलहरूलाई समावेश नहुने भन्दै यस विषयमा सरकारसँग थप छलफल गर्ने उनले बताए।
यसैगरी अक्टोबर २२ देखि ३१ सम्म बहराइनमा हुने थर्ड युथ एसियन गेम्सको सन्दर्भमा पनि खेलकुद मन्त्रालयमा पत्राचार गरेको र यसमा पनि कुनै जवाफ नआएको उनले बताए।
कुन कुन खेललाई समेट्ने भन्ने बारेमा मन्त्रालयले कुनै समन्वय नगरेको कमिटीले आरोप लगाएको छ। एसियन गेम्सका लागि जुलाई २१ सम्म नेपाली टिमले दर्ता गरिसक्नुपर्ने पनि कमिटीले जनाएको छ।