झापा, असार १७ । स्कूल बसबाट लडेर सुनसरीमा एक बालकको मृत्यु भएको छ ।

आज दिउँसो ४.२० बजे सुनसरीको गढी गाउँपालिका ६ मझौस्थित मझौ–औरावनी भित्री सडकखण्डमा लिटल बड्ज एकेडेमी बार्डिङ स्कुलको ग १ख २०१२ नं को बसबाट घर छेउमा आई ओर्लिने क्रममा सोही स्कूलका विद्यार्थी मझौ बस्ने श्रवण उरावका छोरा साढे ३ वर्षीय आयुष उरावको मृत्यु भएको हो । ओर्लिने क्रममा अचानक लड्दा सोही बसको चक्का मुनि छिर्न गई बसको चक्काले टाउकोमा किचेर बालकको घटनास्थलमै मृत्यु भएको हो ।

घटनापछि चालक फरार भएका छन् । घटनास्थलमा मानिसहरुको भीड जम्मा भएपछि इलाका प्रहरी कार्यालय छिटाहाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक प्रेम राउतको कमाण्डमा १० जना र इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमाण्डमा १० जनाको टोली खटिएको छ । त्यहाँको तत्कालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्