झापा, असार १८ । प्रहरीले लागूऔषध कोकिनसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सीमावर्ती कचनकवल वडा नं ४ केचनाबाट पक्राउ पर्नेहरुमा भारत विहार किसनगंज जियापोखर गिलाबारी बस्ने २३ वर्षीय मोहमद तौसिफ र उत्तर दिनाजपुर मजलिसपुर बस्ने २१ वर्षीय परवेज आलम रहेका छन् ।

गएराति कचनकवल गाउँपालिकामा मोटर चोरी गर्न आउने क्रममा पक्राउ परेका ती भारतीयहरुसंग कोकिन फेला परेको हो । राति ८.३० बजे कचनकवल गाउँपालिका वडा नं. ४ का मोजिमिल मियाँको जग्गाको आसपासमा ती दुई भारतीयलाई शंकास्पद अवस्थामा फेला पारी सोधपुछ गर्दा उनीहरुले तजेमुल मियाँको खेतमा रहेको पानी तान्ने मोटर चोरी गरी मजमुल मियाँको जग्गामा लुकाई राखेको स्वीकार गरेका थिए ।

मोटर फेला परेपछि उनीहरुमाथि थप शंका लागेर शरीर तलासी लिँदा मोहमद तौसिफले लगाएको पेन्टको दाहिने गोजीमा प्लाष्टिकसहित १ ग्राम ४२० मिलिग्राम कोकिन फेला परेको हो । उक्त लागूऔषध र ३ हर्स पावरको पानी तान्ने मोटरसहित दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले बताए । उनले उनीहरुमाथि आवश्यक अनुसन्धान तथा कार्वाही भइरहेको जानकारी दिए ।

झापामा ब्राउनसुगर बरामद भइरहेपनि कोकिन खासै भेटिएको थिएन । केही महिनाअघि झापामा १ ग्राम ५६० मिलिग्राम चरेश बरामद भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्