झापा, असार १८ । झापाका ४७१ अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण गरिने भएको छ ।

मदन अधिकारीको अध्यक्षतामा गठन भएको भूमि समस्या समाधान आयोग झापाले पहिलो पटक ४७१ अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण गर्न लागेको हो ।

भूमि समस्या समाधान आयोग झापाको आज बसेको बैठकले बुद्धशान्तिका १९५,अर्जुनधाराका १२८,गौरीगञ्जका ११, कन्काईका १३५ र दमकका २ भूमिहीन दलित÷ सुकुम्बासी र अब्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने कार्यबिधि २०८१ को दफा (६) र भूमिसम्बन्धी नियमहरु २०२१ को २० औँ संशोधन को दफा ५ को बमोजिम जग्गाधनी प्रमाणपुर्जा बितरण गर्ने निर्णय गरिएको आयोगका विज्ञ लक्ष्मी आचार्यले बताए ।

बुद्धशान्ति , अर्जुनधारा , कन्काई , गौरीगञ्ज र दमकका ५४१ अव्यवस्थित बसोबासीका लागि सात दिने सूचना जारी गरिएकोमा ४७१ जनाले नियम अनुसार राजश्व दाखिला गरेकाले उनीहरुलाई असार मसान्तभित्र धनीपुर्जा वितरण गरिने आचार्यले जानकारी दिए । त्यस्तै कन्काई नगरपालिकाका भूमिहीन , दलित र भूमिहीन सुकुम्बासी ७१ परिवारलाई समेत पुर्जा तयार गरी वितरण गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

यसका अलावा बाह्रदशी , शिवसताक्षी , मेचीनगर , कमल र दमकका विभिन्न वडाहरुको फायल बनाउने काम भइरहेको छ । सम्बन्धित पालिका र राजनीतिक दलहरुसंग समन्वय गरी धनीपुर्जा वितरण कार्यक्रम तय गरिने भएको छ । असार २६ देखि २९ गतेभित्र धनीपुर्जा वितरणको कार्यक्रम हुनसक्ने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्