झापा, असार १९ । भुटान पिपुल्स पार्टीका अध्यक्ष एवं अग्रज शरणार्थी नेता बलराम पौडयाल भुटान राज्यको ज्यादतीमाझ सन ९० दशकको सुरुवातमै देश निकालामा परेका थिए ।

भुटानको साम्ची जिल्ला, बाँडा ब्लक, बाँडा ‘ए’ गाउँको मण्डल समेत रहेकै बेला सन् १९८९, नोभेम्बर ३ देखि बलरामको जीवनमा नसोचेको र नभोगेको पाना खुल्यो। ल्होत्साम्पामाथिको अन्याय–अत्याचार बढ्दै गएका बेला आफ्नो राज्यशासनका विरुद्ध लागिपर्ने जोकोही नेपालीभाषी भुटानी राजाको नजरमा पर्थे । त्यही नजरमा परेकै कारण नोभेम्बर ३ तारिख राति उनको बाँडा गाउँस्थित घरमा भुटान प्रहरीका ४ सदस्य आएर ‘राजाको बैठकमा जानु छ’ भन्दै घरबाट लिएर गए।

उनीहरूको आदेशलाई शिरोधार्य गर्दै साम्ची सदरमुकाम लाग्दै गर्दा बाटैमा पिसाब गर्ने निहुँमा बलराम भगौडा बने। ज्यान बचाउन तोदे खोला तरेर भारत (कालिम्पोङ) तिर लागेको केही दिन अर्थात् १९८९ डिसेम्बर १४ मा रेडियोबाट एउटा सूचना आयो— बाँडा ‘ए’ गाउँका मण्डल बलराम पौडयालको घर तथा सम्पत्ति राष्ट्रियकरण गरिएको छ।

यसरी सुरु हुन्छ—आजको हिसाबमा ७३ वर्षीय (जन्म सन् १९५२, अक्टोबर २९) बलराम पौडयालको निर्वासित जीवन गाथा । जसको आयुको आधा जति उमेर नेपालमा ‘अनागरिक’ हैसियतमा बितिरहेको छ। तेस्रो देशमा शरणार्थीको पुनरबसोबास योजनामा सुरुदेखि नै विरोध जनाउने नेता बलराम अहिले झापाको बिर्तामोडमा बसेर भुटानी शरणार्थी आन्दोलनको प्रत्यक्ष÷परोक्ष अभियन्ता बनिरहेकै छन्।

भुटानी शरणार्थीको स्वेच्छिक घर फिर्ती अभियानका पक्षधर टेकनाथ रिजालसहित बलरामको अधिकारवादी आवाज निकै चर्को रूपमा सुनिने गरेको थियो। तर, पछि गएर कतिपय अभियन्ता तेस्रो देशका बासिन्दा बन्न पुगे भने कतै अनेक राजनीतिक विचार तथा विभाजनका कारण शरणार्थी आन्दोलन नै छिन्नभिन्न पुग्यो।

‘आफ्नो जन्मसिद्ध हक र अधिकारको कुरा गर्न समूह चाहिन्छ भन्ने होइन, एउटै व्यक्तिको आवाज पनि आवाज नै हो’,अहिले आफ्नो आगत–विगत र शरणार्थी जीवनको भोगाइ तथा भुटानभित्रको नदेखिने राजनीति सम्बन्धी पुस्तक ‘पर्दा पछाडिको भुटान’ लिएर फेरि आफ्नो उपस्थिति दर्याउन आएका बलराम पौडयाल भन्छन्—‘अब त कस्तो समय आयो भने आफ्नै इतिहास पनि अभिलेखबद्ध नहोला र, एक लाखभन्दा बढी नेपालीभाषी भुटानीको क्रन्दन पनि सुखीखुशी राष्ट्र भुटान भनेरै बिलाइजाला कि भन्ने स्थिति आएको छ। यही कारण मैँले पुस्तकमार्फत मैँले भोगेको मेरै समयको अभिलेख ल्याउन चाहेको हुँ।’
पेज टर्नर प्रकाशक रहेको पुस्तकको अङ्ग्रेजी संस्करण ‘भुटान ः बिहाइण्ड द कर्टेन’ पनि एकैसाथ प्रकाशित भएको छ। लेखक पौडयालले पुस्तकको प्राक्कथनमा भनेका छन्—“बाहिरी दुनियाँले देखेको भुटान केवल यहाँका शासकहरूले प्रस्तुत गरेको कागजी व्याख्यानको भुटान हो। वास्तविक भुटानलाई अझैसम्म पर्दा पछाडि लुकाइएको छ। यो पुस्तकले वास्तविक भुटानबारे जान्न र बुझ्न चाहने पाठकहरूलाई थोरै मात्र भए पनि सहयोग पुर्याउन सकेछ भने मेरो सानो प्रयास सफल भएको ठान्नेछु।”

बलराम पौडयाल शनिवार दिउँसो २ बजे, पाटन यलमाया केन्द्रमा ‘पर्दा पछाडिको भूटान’ पुस्तक विमोचन गराउँदैछन्। यसअघि पौडयालका “भूटान फर्कदा”(१९९५), “भूटान हिजो र आज”(२००१) र सुबोल (२००७) प्रकाशित छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्