भर्खरै माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको नतिजा सार्वजनिक भएको छ। माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा एसईई नेपालको शैक्षिक प्रणालीको एउटा महत्वपूर्ण चरण हो, जसले विद्यार्थीको शैक्षिक यात्रा नयाँ मोड र गन्तव्यतर्फ डोर्याउँछ। एसईई परीक्षा सकिएपछि विद्यार्थीको मनमा अनेक जिज्ञासा, आशंका र अपेक्षा पैदा हुन्छन्। अब के गर्ने? कुन विषय पढ्ने? भविष्य कता लाग्ने? यस्तै यस्तै प्रश्नहरू उनीहरूको मनमा खेलिरहेका हुन्छन्। यो स्वाभाविक पनि हो। यस अवस्थामा विद्यार्थी स्वयं, उनीहरूका अभिभावक तथा समाज सबैले गम्भीर सोच र जिम्मेवार भूमिका निर्वाह गर्नु आवश्यक छ।

विद्यार्थीः सोच र योजना बनाउने समय

एसईई सकेपछि विद्यार्थीलाई प्राप्त हुने लामो अवकाश केवल ‘दैनिकी कक्षा’ बाट छुटकारा मात्र होइन, यो आफैंलाई बुझ्ने र भविष्यको योजना बनाउने उत्कृष्ट अवसर पनि हो। आफ्नो रुचि, क्षमता र लक्ष्य पहिचान गर्दै विभिन्न क्षेत्रबारे अध्ययन गर्नु अहिलेको मुख्य प्राथमिकता हुनुपर्छ।

कतिपय विद्यार्थीले परम्परागत रूपमा विज्ञान लिने सोच राख्छन्, तर विज्ञान नै सबैभन्दा राम्रो विकल्प हो भन्ने धारणा गलत हो। व्यवस्थापन, मानविकी, शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा सबै क्षेत्रको आफ्नै महत्व छ। त्यसैले सोच–विचार बिना भीड पछ्याउनु बुद्धिमानी हुँदैन। विषय सवैथोक होइन,आफू जुन विषयको अध्ययन गरिन्छ,त्यो विषयप्रति आफ्नो रुचि ,लगाव के –कस्तो छ भन्ने विषयमा हेक्का राख्नु जरुरी छ। साथै जुन विषयको चयन गरिन्छ ,त्यसमा आफू अव्वल र उत्कृष्ट बन्ने कोसिस गर्नु पर्दछ,त्यसले भविष्यमा आफूलाई एउटा उचाईमा अवश्य नै ल्याउने छ। एसईईपछि प्राप्त हुने समयलाई कम्प्युटर सीप, भाषा दक्षता (जस्तै अंग्रेजी), कोडिङ वा सामाजिक सेवा जस्ता कार्यमा लगाउन सकिन्छ। यसले व्यक्तित्व विकासमा सहयोग गर्छ र भविष्यका लागि राम्रो तयारी पनि बन्छ।

अक्सर धेरै विद्यार्थी भाईबहिनीहरुको एसईईपछि विद्यालय परिवर्तन गर्ने होड बस्छ,साथै अब कलेज पढ्न जाने भन्ने मनोवैज्ञानिक सोच र चिन्तन बोकेको पाईन्छ ।तर वर्तमान शिक्षाको संरचनाले कक्षा ११÷१२ को पठनपाठन विद्यालय तहमा नै राखेको विषय बुझ्नु जरुरी छ। नेपालको जहाँसुकै र जुनसुकै ठाउँमा अध्ययन गरे पनि त्यो विषयवस्तु र पाठयक्रम एउटै हुने गर्दछ भन्ने कुरा मनन गर्नु जरुरी छ। लहडको भरमा भन्दा पनि आफूले अध्ययन गरेको विद्यालयमा आधारभूत पक्षहरु छन् कि छैनन् भन्ने विषयमा विश्लेषण गर्नु जरुरी छ।त्यसको आधारमा मात्रै आफ्नो धारणा बनाउनु वाञ्छनीय हुनेछ। अभिभावकको आर्थिक पक्षलाई लिएर मात्रै उपयुक्त निर्णय गर्नु वेश हुनेछ।

अभिभावकः मार्गदर्शकको जिम्मेवार भूमिका

एसईईपछि अभिभावकको भूमिका अत्यन्त संवेदनशील हुन्छ। नतिजाका आधारमा बच्चाको मूल्यांकन गर्ने, छिमेकी वा आफन्तको बच्चासँग तुलना गर्ने, जबर्जस्ती आफ्नै इच्छाअनुसार विषय रोज्न लगाउने प्रवृत्तिले विद्यार्थीमा निराशा, दबाब र आत्मग्लानी सिर्जना हुन सक्छ।

अभिभावकले चाहिँ के गर्नुपर्छ भने, आफ्ना सन्तानको रुचि र क्षमतालाई बुझ्ने प्रयास गर्नुपर्छ। तिनीहरुसँग संवाद गरेर विकल्पहरूबारे जानकारी दिनुपर्छ। परामर्शदाताको जस्तो व्यवहार गर्दै विभिन्न परिवेश र परिस्थितिको बारेमा जानकारी दिई उनीहरूलाई स्वतन्त्र निर्णय लिन प्रेरित गर्नुपर्छ।

विद्यार्थीका हरेक सफलताको मूल्यमा आत्मविश्वास र प्रेरणा लुकेको हुन्छ, जुन परिवारबाट सुरु हुन्छ। त्यसैले अभिभावक सकारात्मक, सहृदय र सहयोगी बन्न जरुरी छ। अहिले बालबालिका सूचना तथा संचारको कारण विश्व बजारलाई बुझ्ने क्षमता राख्नुको साथै कतिपय विषयमा आफ्नो यथार्थ धरातल र वास्तविकताभन्दा माथि उठी दिवा सपना समेत देखिरहेको हुन्छ। यस्तो अवस्थामा अभिभावकले आफ्नो परिवारको वास्तविक क्रयशक्तिको अवस्था र धरातल बुझाउन सक्नुपर्ने अर्को जटिल पक्ष रहेको हुन्छ। हरेक सन्तानप्रति आफ्नो मातापिताको असाध्यै प्रेम र स्नेह रहेको हुन्छ ,जसले गर्दा आफ्ना अफ्ठयारा र कठिनाइ लुकाउने गर्दछौं जुन भविष्यको निम्ति असाध्यै ठूलो गलत कार्य सावित हुने गर्दछ।

समाजः धारणा परिवर्तनको खाँचो

हाम्रो समाजमा अझै पनि विषय तथा पेशाको आधारमा व्यक्तिको मूल्यांकन गर्ने प्रवृत्ति छ। विज्ञान पढ्ने विद्यार्थीलाई ‘बुद्धिमान्’, व्यवस्थापन वा प्राविधिक रोज्ने विद्यार्थीलाई ‘कम आँकलन’ गर्ने मानसिकता अझै बदलिन सकेको छैन।सवै विषयको उत्तिकै महत्व र आवश्यकता छ भन्ने विषय बुझ्नु र बुझाउनु जरुरी छ।

हाम्रो धारणा यस्तो हुनुपर्छ– जुन विषयमा विद्यार्थी उत्कृष्ट हुन सक्छन्, जुन काममा उनीहरू खुशी भएर योगदान गर्न सक्छन्, त्यही उत्तम विकल्प हो।त्यसमा रम्ने र रमाउने वातावरण तयारी गर्नु आजको आवश्यकता हो। सीपमूलक शिक्षा र प्राविधिक दक्षता आजको युगमा अत्यन्तै आवश्यक छ। समाजले यस्ता शिक्षालाई पनि सम्मान गर्न सिक्नुपर्छ।

एसईई सकिएपछि सुरु हुने संक्रमणकालीन समय विद्यार्थीका लागि आत्मचिन्तन, लक्ष्य निर्धारण र निर्णय लिने अत्यन्त संवेदनशील समय हो। यस अवधिमा सही मार्गदर्शन, सकारात्मक सोच र समर्पित प्रयासले भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ। अभिभावकले भावनात्मक सहयोग र निर्णय स्वतन्त्रताको सन्तुलन मिलाएर साथ दिन सक्नुपर्छ। अनि मात्र विद्यार्थी सही मार्गमा अघि बढ्न सक्छन्।

हामी सबै– विद्यार्थी, अभिभावक र समाज– मिलेर सकारात्मक वातावरण तयार पार्न सक्छौं, जहाँ हरेक विद्यार्थीले आफ्नै रुचि र क्षमताअनुसार उज्यालो भविष्य निर्माण गर्न सकून्। यही हो, एसईईपछि गर्ने सबैभन्दा महत्वपूर्ण काम हो। अन्तमा एसईई –२०८१ मा सफल सम्पूर्ण विद्यार्थी भाईबहिनीहरुमा हार्दिक शुभकामना साथै आगामी शैक्षिक यात्रामा उच्च मनोबलका साथ निरन्तररुपमा लाग्नको निम्ति हार्दिक अनुरोध छ। शिक्षा प्राप्तिको आराम्भ भएको बुझ्न र जीवन सिक्न थुप्रै कुरा बाँकी छ अनुभूत गर्न समेत अनुरोध छ।
(लेखक नेपाल शिक्षक महासंघ विर्तामोडका अध्यक्ष एवम् नगर शिक्षा समिति विर्तामोडका सदस्य हु्न्।)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्