झापा, असार २० । हरेक किसिमका विपद्मा खटिनका लागि सशस्त्र प्रहरी बलले झापामा समुदाय विपद् स्वयंसेवक तयार पारेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हे.क्वा. झापाले तालिम प्रदान गरी २१ जनाको समुदाय विपद् स्वयंसेवक तयार पारेको हो । समुदाय विपद् स्वयंसेवक तयार पार्नका लागि सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हे.क्वा. झापाको आयोजना तथा कचनकवल गाउँपालिकाको सहकार्यमा गत जेठ ३० गतेबाट “समुदाय विपद् स्वयंसेवक तालिम” संचालन गरिएको थियो । जुन तालिम हिजो सफलतापूर्वक समापन भएको छ ।

तालिम समापनमा आफूहरुले सिकेका सीपलाई सहभागीहरुले प्रदर्शन गरेका थिए । तालिमका प्रशिक्षार्थीहरुले जल उत्पन्न विपद्को अवस्थामा कृत्रिम घटनामा आधारित उद्धार अभ्यास, भान्सामा लागेको आगो नियन्त्रण तथा घाइतेहरुलाई प्राथमिक उपचार सम्बन्धी प्रभावकारी डेमोस्ट्रेशन प्रदर्शन गरेका थिए ।
कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानरीक्षक कुमार न्यौपाने रहेका थिए । त्यस्तै बिशिष्ट अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष गोपालकुमार अधिकारी रहेका थिए । तालिमका सहभागी प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिद्वारा प्रमाणपत्र वितरण गरिएको थिया । साथै कचनकवल गाउँपालिकाको तर्फबाट तालिममा खटिएका प्रशिक्षकहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक न्यौपानेले विपद् व्यवस्थापनको पूर्वतयारीमा यस प्रकारको तालिमले समुदायस्तरमै चेतना अभिबृद्धि गराउने र आपतकालीन अवस्थामा पहिलो सहयोगी भूमिकामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारीले समुदाय स्तरमै विपद् जोखिम न्यूनीकरण र प्रारम्भिक क्षमता सुदृढ गर्ने तालिमले प्रभावकारी भूमिका खेल्ने उल्लेख गरे । उनले यस्ता तालिम झापाका अन्य पालिकाहरूमा समेत गराउन आवश्यक रहेको बताउँदै तालिमका प्रशिक्षार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रमका अध्यक्ष गाउँपालिका अध्यक्ष राजवंशीले सुरक्षाकर्मी र समुदायबिचको सहकार्य आवश्यक रहेको बताउँदैै तालिमबाट प्रशिक्षार्थीहरूलाई प्राप्त भएको सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले भोलीका दिनहरूमा हुनसक्ने बिपद् प्रकोप उद्धारमा महत्वपूर्ण सहयोग प्रदान गर्ने विश्वास व्यक्त गरे ।