झापा, असार २० । संगीता पौडेलले नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रको फ्युज सेवामा रिसेप्सनिस्ट काम गरेको ९ वर्ष भयो । बिजुली जाँदा फोन रिसिभ गर्ने जिम्मेवारी पाएकी संगीतालाई ग्राहकको गाली सुन्ने बानी नै परिसक्यो ।

गाली मात्र नभएर कतिपयले अश्लील शव्द प्रयोग गरी मुख नै छाड्छन् । ग्राहकको कम्प्लेन टिप्ने , बिजुली किन गएको र कहिले आउने भनेर फोनमार्फत ग्राहकलाई जानकारी गराउने कामका लागि रिसेप्सनिस्ट राखिएको हुन्छ । त्यस पदमा कार्यरत संगीतालाई ग्राहकहरु कति धेरै आवेशमा फोन गर्छन् भनेर सोध्दा उनी हाँस्छिन् । ग्राहकहरुले भन्ने गरेको शव्द सुनाउँदै उनी भन्छिन् ‘ बुज्रुकहरु राम्ररी नै बोल्नु हुन्छ । युवाहरुले बोल्ने शव्द सहने खालको हुँदैन तर पनि सहन्छौं ।’
बिजुलीको लाइन गएपछि कुलमान घिसिङको नाम उच्चारण गर्दै कुलमान हटाउनेलाई गाली गरी फोन गर्ने ग्राहक निकै छन् । केही महिनाअघि एकजना ग्राहकले अमर्यादित भएर अश्लील गाली गरेपछि उनीविरुद्ध उजुरी दिएको जनाइएको छ ।
लाइन जाँदा फोन नलाग्ने र कर्मचारीहरुले फोन होल्ड गरेर राख्ने गरेको गुनासोको सम्बन्धमा संगीता भन्छिन् ,‘ ग्राहकहरुले गुनासो गरेजस्तो फोन कहिल्यै होल्ड गरेको छैन । धेरै ग्राहकहरुले एकैचोटी गर्दा नलागेको मात्र हो । ’ अनारमनी वितरण केन्द्रको फ्युज सेवामा ग्राहक कम्प्लेनका लागि ५३०२९४ र ५३६१७२ नम्बरको टेलिफोन रहेका छन् ।
अनारमनी वितरण केन्द्रका करिव एक लाख ग्राहक रहेका छन् । वितरण केन्द्रअन्तर्गत झापा र इलामका ६ वटा नगरपालिका , ५ वटा गाउँपालिका र दुईवटा सामुदायिक संस्था रहेका छन् । फ्युज सेवामा संगीतासंगै कल्पना आचार्य , राम राजवंशी र पवित्रा भट्टराई कार्यरत छन् । उनीहरु सिफ्ट अनुसार चौबीसै घण्टा फ्युज सेवामा खटिने गरेका छन् ।