झापा, असार २१ । झापामा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।

बीएण्डसी अस्पतालमा उपचाररत ११ वर्षीया बालिकाको मृत्यु भएको हो । झापा शिवसताक्षीका सुमन राईकी छोरी सुरविरा राईलाई स्वास्थ्यमा समस्या भएपछि बिहीवार बीएण्डसीमा भर्ना गरिएको थियो । हिजो बिहान ८.२५ बजे उपचारका क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालले जानकारी दिएका छन् ।
यस वर्ष पहिलो पटक झापामा डेंगुबाट मृत्यु भएको हो । गत वर्ष झापामा डेंगु संक्रमणबाट दुई जनाको मृत्यु भएको थियो । मनसुन सुरू भएसँगै झापामा डेंगु संक्रमितको संख्या बढ्न थालेको छ । डेंगुबाट संक्रमित हुनेहरुमा अधिकांश बिर्तामोडका रहेका छन् । फोकल पर्सन बरालका अनुसार हाल बीएण्डसीमा ४८ , दमकमा १ र गौरादहमा ६ जना डेंगु संक्रमित उपचारमा रहेका छन् ।
विगतका वर्षहरु जस्तै यस वर्ष पनि डेंगुको संक्रमण बढ्दै गएको छ । डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ । तर, झापामा बाह्रै महिना डेंगु देखिने गरेको छ ।