झापा, असार २१ । झापामा सिटी सफारी र अटोको लापरवाहीले सवारी दुर्घटना बढ्ने क्रममा दुईजनाको मृत्यु भएको छ ।

सिटी सफारी र अटोले ट्राफिक नियमविपरित जथाभावी चलाउने गर्दा दुर्घटना बढेको हो । सिटी सफारी दुर्घटनामा झापामा एकैदिन दुईजनाको ज्यान गएको हो । मेचीनगरको अलग अलग ठाउँमा सिटी दुर्घटना भएको हो ।

आज बिहान अन्दाजी ९ः३० बजे मेचीनगर वडा न.१० ढाटचोकस्थित भित्री सडकखण्डमा महामति फर्निचर उद्योगबाट नागाडुव्वातर्फ जाँदै गरेको प्र.१ –०१–००२ ह ७१०५ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा सिटी चालक मेचीनगर –११ बस्ने ३२ वर्षीय राज कडरिया घाइते भई बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा उपचारको क्रममा १०ः५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो सिटीमा कडरियाबाहेक अरु सवार थिएनन् ।

त्यस्तै सिटी सफारी दुर्घटनाका घाइते अर्का एक व्यक्तिको मृत्यु भएको छ । असार १५ गते मेचीनगरमा भएको सिटी सफारी दुर्घटनामा घाइते यात्रुको उपचारका क्रममा मृत्यु भएको हो । असार १५ गते बिहान १०ः३० बजे मेचीनगर –७ पालिया टोलस्थित भित्री सडकखण्डमा पूर्वपश्चिम राजमार्गबाट बसपार्कतर्फ जाँदै गरेको मे१ह ६१०५ नम्बरको सिटी आफै अनियन्त्रित भई रोडमा पल्टिएको थियो । सिटीमा सवार मेचीनगर ७ नयाँ बसपार्क बस्ने ४० वर्षीय सुदिप राजवंशी घाइते भएका थिए ।

घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोडमा सामान्य उपचारपश्चात् थप उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगिएको थियो । उनको उपचारको क्रममा आज बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा संलग्न सिटी र सिटी चालक मेचीनगर नगरपालिका वडा नं. ७ बस्ने ४५ वर्षीय नबिन बिश्वकर्मालाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

असार महिनाको तथ्यांकलाई हेर्ने आजसम्म झापामा ५२ वटा सवारी दुर्घटना भएका छन् । त्यसमा ४ जनाको मृत्यु भएको छ । त्यसमध्ये ७ वटा अटो र सिटी दुर्घटना भएका छन् । सिटी दुर्घटनामा दुईजनाले ज्यान गुमाएको र ८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्