झापा, असार २१ । अटो र सिटी रिक्साका कारण दुर्घटना बढिरहेका बेला आज साँझ मेचीनगरमा अटोसंग ठोक्किएर एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

साँझ ५.१० बजे मेचीनगर –१२ माथिल्लो धाइजनस्थित मेची राजमार्गमा चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्र.१–०१–००२ ह. ५५७१ न. को अटो र बिपरीत दिशाबाट आउँदै गरेको मे. ८ प. ८०३ न.को मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा –११ बस्ने ३४ वर्षीया भिमबहादुर सार्की घाइते भएका थिए । उनलाई बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा चिकित्सकले लानेबित्तिकै मृत घोषणा गरेका छन् । अटोमा सवार बुद्धशान्ति –३ बस्ने ४९ वर्षीया निर्मला बिक र उनकी छोरी १७ वर्षीया दिपा बिक घाइते भएका छन् । दुबै जनाको बीएण्डके पोलिक्लिनिक चारआलीमा उपचार भइरहेको छ ।
अटो चालक बुद्धशान्ति –१ बस्ने ४० वर्षीय युवराज घिमिरे ,अटो र मोटरसाइकललाई प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।