कुमरखोद , असार २१ । झापा गाउँपालिकामा विद्यार्थी कुटपिट गर्ने एक शिक्षक निलम्वनमा परेका छन् ।

झापा गाउँपालिका वडा नं ६ फुलगाछीस्थित फुलगाछी विलिभर्स अंग्रेजी विद्यालयका शिक्षक विगेन्द्र सुब्बालाई विद्यालय प्रशासनले निलम्वन गरेको हो ।

उनले कक्षा ५ मा अध्ययनरत क्रिश्चल प्रधानलाई असार ६ गते कुटपिट गरेका थिए । कुटाई खाएका विद्यार्थी घरमा पुगेर विरामी परेका थिए । अभिभावकले सोधीखोजी गर्दा शिक्षकले सोधेको प्रश्नको उत्तर नदिँदा कुटपिट गरेको बताएका थिए ।

छोराको स्वास्थ्य अवस्था विग्रदै गएपछि स्थानीय क्लिनिकमा उपचार गराउन जाँदा त्यहाँ सम्भव नभएपछि विर्तासिटी अस्पतालमा १० दिन राखेर निको बनाएर घर ल्याएको विद्यार्थीका बुवा धनबहादुर प्रधानले बताए । उनले शिक्षक सुब्बाको कुटाइबाट छोरालाई मानसिक असर पनि परेको बताए । प्रधानले आफ्नो छोरालाई उक्त विद्यालयमा नपढाउने निर्णय गरेका छन् ।

विद्यालयमा आज जनप्रतिनिधि , स्थानीय वुद्धिजीवी र विद्यालय प्रशासनवीच भएको छलफलमा कुटपिटबाट विरामी भएका विद्यार्थीको सम्पूर्ण उपचार खर्च विद्यालय प्रशासनले व्यहोर्ने र फलोअपमा भएको खर्च पनि व्यहोर्ने, विद्यार्थीलाई अन्य विद्यालयमा पठनपाठन गराएपनि १ वर्षको सम्पूर्ण शुल्क विद्यालय प्रशासनले तिरिदिने , विद्यार्थीको कक्षा ५को सम्पूर्ण शुल्क फिर्ता गर्ने , कुटपिट गर्ने शिक्षकलाई निलम्वन गर्ने र पीडित पक्षले सुब्बालाई अन्य कानुनी कार्वाही नगर्ने निर्णय भएको वडा नं ६ का अध्यक्ष नविनकिशोर थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्