झापा, असार २२ । घरायसी विवादलाई लिएर धनकुटामा श्रीमतीले श्रीमानमाथि छुरा प्रहार गरेका छन् ।

गएराति ९.५० बजे धनकुटा नगरपालिका वडा नम्बर ९ मुलघाट बजार बस्ने ४० वर्षीया माया राईले घरायसी विवाद हुँदा श्रीमान ४५ वर्षीय सनम सुब्बालाई मलद्वारमा छुरा प्रहार गरी घाइते बनाएकी हुन् । प्रहरी चौकी मुलघाटबाट प्रहरी सहायक निरीक्षक टंकबहादुर थापाको कमाण्डमा प्रहरी टोली खटिएर छुरा प्रहार गर्ने माया राईलाई छुरासहित नियन्त्रणमा लिएको छ ।
उनलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय धनकुटातर्फ पठाउने तयारी भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।
उता गएराति ९.३० बजे संखुवासभा भोटखोला २ लिङ्गम बस्ने ५५ वर्षीय कितुक भोटेले सामान्य घरायसी विवाद हुँदा आफ्नै छोरा ३१ वर्षीय किन्दुक भोटेलाई खुकुरी प्रहार गर्न लागेका थिए । त्यसक्रममा रुकुमा बस्ने ३० वर्षीय कुङ्गा भोटेले छु्ट्याउन जाँदा उनी खुकुरीले लागेर घाइते भएका छन् ।
निधारमा चोट लागेर घाइते भएका कुङ्गा भोटेलाई उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको छ । खुकुरी प्रहार गर्ने कितुक भोटे तत्काल फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।