झापा, असार २२ । भोजपुरमा धारिलो हतियार प्रहार गरी एकै परिवारका ४ जनाको हत्या भएको छ ।

आज बिहान राति सवा १ बजेतिर भोजपुरको रामप्रसाद राई गाउँपालिका –२ धोद्ले खानी बस्ने ६८ वर्षीय बेलबहादुर गिरीको घरमा आएका ज्वाइँ भोजपुर –२ हेलौछा स्थायी घर भएका ३० वर्षीय राजेन्द्र राईले हतियार प्रहार गरेका हुन् ।
उनी असार १२ गतेदेखि ससुराली घरमा बस्दै आएका थिए । आज बिहान घरायसी विवादपश्चात् राईले ससुरा बर्ष ६८ का बेलबहादुर गिरी , सासुआमा बर्ष ४५ की मन्जु गिरी ,सालो बर्ष ९ का सपन गिरी र श्रीमती बर्ष १५ की मनिषा गिरीको हत्या गरेको प्रहरीले जनाएको छ ।
घटना संलग्न रहेका भनिएका राजेन्द्र पनि गम्भीर घाइते छन् । उनको पेटमा तीन ठाउँमा धारिलो हतियारको चोट लागेको छ । हत्यामा संलग्न राईलाई उपचारका लागि भोजपुर अस्पताल ल्याइएको थियो । उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि रेफर गरिएको छ ।
छिमेकीका अनुसार मनिषा केही दिनअघि माइती आएकी थिइन् । मनिषालाई लिन भनेर ससुराली पुगेका राजेन्द्र र माइतीबीच मनिषाको विषयमा विवाद भएको थियो ।