झापा, असार २२ । मोरङको रंगेलीमा लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलाएको छ।

लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो। दिउँसो ३ः१५ बजे नेपाल प्रहरी केन्द्रीय लागूऔषध ब्युरो काठमाण्डौ, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले रंगेली वडा नं ८ स्थित डिल्लीराम श्रेष्ठको घरमा रंगेली ८ घर भई भाडामा बस्ने ५४ वर्षीय कृत्यानन्द ठाकुरको कोठाबाट लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा छापा मारेको थियो ।
अभियुक्तहरु भाग्ने क्रममा चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ । प्रहरीले कृत्यानन्द ठाकुर, रंगेली ८ दर्बेशा बस्ने ३० वर्षीय सुशिल बुढाथोकी र भारत अररिया कुर्शा कट्टा घर भएकी ५० वर्षीया हसिना भन्ने बिजली खातुनलाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट प्लाष्टिकसहित ४२५ ग्राम ब्राउनसुगर बरामद भएको छ । लागूऔषधसहित तीनैजनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।