बिर्तामोड ,असार २२ । झापा अर्जुनधारा ५ का वडाध्यक्ष गीताराज खड्का र जिल्ला समन्वय समितिकी सदस्य रिता नेपालीबीचको विवादका कारण सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच दरार पैदा भएको छ । कांग्रेस र एमालेबाट निर्वाचित ती दुई जनप्रतिनिधिबीचको विवादका कारण दुई दल सहकार्य तोड्ने अबस्थासम्म पुगेका छन् ।

एमालेले पटक–पटक धोखा र बेइमानी गरेको भन्दै सत्ता साझेदार दुई दलबीचको सहकार्य हुन नसक्ने कांग्रेसले चेतावनी दिएको हो । वडाध्यक्ष खड्काले रिता नेपालीको पर्खाल भत्काएको घटनालाई लिएर दुवैबीच विवाद भएको हो । जिल्ला समन्वय समितिकी सदस्य एवम् दलित नेतृ नेपालीले आफूमाथि वडाध्यक्ष खड्काले लामो समयदेखि जातीय विभेद र अभद्र व्यवहार गर्दै आएको आरोप लगाउँदै जातीय बिभेदको मुद्दा दर्ता गरेपछि दुवै सत्ता साझेदार दल आमनेसामने भएका हुन् । गत बिहीवार नेपालीको पर्खाल भत्काइएको हो ।
नेपाली काँग्रेस अर्जुनधारा नगर समितिको आज बसेको आकस्मिक बैठकले एमालेसंगको राजनीतिक संयन्त्रमा अब उप्रान्त कुनै सहकार्य नगर्ने निर्णय गरेको हो । संयुक्त सरकार भएपनि एमालेले एकलौटी शासन चलाई नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि दमन गरिरहेको भन्दै नेपाली कांग्रेस अर्जुनधारा नगर समितिले यस्तो निर्णय गरेको नगर सभापति हेमराज खरेलले जानकारी दिए ।
रिता नेपाली र राजवंशी परिवारबीचको जग्गाको सीमा विवाद मिलाउन जाँदा आफ्नो पक्ष नलिएको भन्दै एमाले नेताको उक्साहटमा वडाध्यक्ष खड्काबिरुद्ध जातीय बिभेदको मुद्दा दर्ता गरिएको दावी गर्दै नेपाली कांग्रेस अर्जुनधाराले खेद प्रकट गरेको छ ।
असार २० गते वडाध्यक्ष खड्कासँग मेलमिलाप गर्ने सहमति गरेकी नेपालीले एमाले नेताहरुको दोहोरो भूमिकाका कारण जग्गाको सीमा विवादलाई जातीय बिभेदको झुठा मुद्दा लगाएको कांग्रेसको आरोप छ । अति विपन्न आदिवासी समुदायका राजवंशी परिवारको चार धुर जमिनको सिमानाका विषयमा दलित नेतृ नेपालीसंग किचलो परेको थियो । किचलोका बीच नेपालीले पर्खाल बनाएपछि वडा कार्यालयले भत्काएको जनाइएको छ । बारम्बार किचलो गर्दै आएकी नेपालीले आफू जिल्ला समन्वय समितिको सदस्य भएको र आफ्नो राजनैतिक पहुँच माथिसम्मै रहेको भन्दै आफू गरीब राजवंशी परिवारलाई धम्क्याउँदै आएको सुमित्राले बताएकी छिन् ।
नगर समितिको बैठकमा कोशी प्रदेश सदस्य राजकुमार बराइली, महासमिति सदस्य दिपक तामाङ, ९ नम्बर वडाध्यक्ष भिष्म मिश्र, ६ नं वडाध्यक्ष हरिश्चन्द्र बाँस्तोला, ५ नं वडा सदस्य अर्जुन कँडेल, नगर उपसभापति प्रशान्त भण्डारीलगायतले बैठकमा धारणा राख्दै कानूनको दुरुपयोग र झुठा मुद्दा गर्नेहरुबिरुद्ध कानूनी र राजनैतिक संघर्ष गरेर परास्त गरेरै छाड्ने अठोट लिएका थिए ।
नेपालीले कांग्रेस अर्जुनधारा ५ का सभापति तथा वडाध्यक्ष खड्कासँगै छोरी सुनिता र उनकी आमा सुमित्रा राजवंशीमाथि मुद्दा दर्ता गरेकी छन् । सुनितालाई प्रहरीले पक्राउ गरेको छ भने वडाध्यक्ष खड्का र सुमित्रा राजवंशी पक्राउ परेका छैनन् ।