बिर्तामोड, असार २३ । अघिल्लो कार्यकालमा बिर्तामोड ९ को वडा सदस्य हुँदा हरि चम्लागाईले वडाबासीहरुका लागि धेरै समय दिएनन् ।

अत्यधिक मादक पदार्थ सेवन गर्ने बानीका कारण उनी खासै वडा कार्यालय आएनन् । वडाबासीहरुले धेरै गुनासो गरे । त्यसका बावजुद तिनै चम्लागाईलाई नेकपा एमालेले वडाध्यक्षको टिकट दिएर २०७९ सालको स्थानीय तहको निर्वाचनमा जितायो । त्यस्तै सोही एमाले पार्टीका तर्फबाट टिकट पाएर चन्द्र दंगाल र केशव बुढाथोकीले वडा सदस्य जिते ।

एमालेले टिकट दिएर जिताएका बिर्तामोड ९ का पाँच जना जनप्रतिनिधिमध्ये ती तीनजनाप्रति यतिबेला वडाबासीहरु आक्रोशित छन् । मादक पदार्थ सेवन गर्ने बानी छोड्न नसकेका चम्लागाई धेरै समय सुधार केन्द्रमै भर्नारत रहन्छन् ।

अत्यधिक मादक पदार्थ सेवन गरेका कारण चम्लागाईलाई कमल गाउँपालिकास्थित एक सुधार केन्द्रमा भर्ना गरिएको स्रोतले बताएको छ । चम्लागाईलाई यसअघि पनि पटकपटक सुधार केन्द्र भर्ना गरिएको स्थानीयले बताएका छन् । त्यस्तै पाँच वर्षको लागि जनताको अमूल्य मत लिएर निर्वाचित भएका वडा सदस्यहरु चन्द्र दंगाल र केशवकुमार बुढाथोकी वैदेशिक रोजगारीमा गएका छन् । दुवैजना गत वर्ष नै विदेश कमाउन गएका हुन् । दंगाल रोमनिया र बुढाथोकी खाडी राष्ट्र गएको बताइएको छ ।

वडाध्यक्ष चम्लागाईको त्यो हालत र दुईजना वडा सदस्य विदेश गएपछि बिर्तामोड नगरपालिका वडा नम्बर ९ को जिम्मेवारी दुई जना जनप्रतिनिधिले बहन गरिरहेका छन् । अन्य जनप्रतिनिधि नहुँदा सिंगो वडाको काम दुई जनाले गर्नु परेको हो ।

वडाध्यक्षलाई सुधार केन्द्र भर्ना गरिएपछि कार्यवाहक वडाध्यक्षको जिम्मेवारी संगीता शिवाले निर्वाह गरिरहेकी छन् । शिवासँगै अर्की वडा सदस्य सल्पना राजवंशीले वडाबासीको काम गरिरहेका छन् ।

दुई जना जनप्रतिनिधिले सिंगो वडाको काम गर्नुपर्दा काम राम्रो नभएको भन्दै वडाबासी रुष्ट छन् । भौगोलिक हिसाबले ठूलो वडा भएको र जनप्रतिनिधि कम हुँदा जनताको काममा प्रत्यक्ष असर परिरहेको उनीहरुको गुनासो छ । जनताको अमूल्य मतलाई लत्याउँदै बिर्तामोड नगरपालिकाका चारजना जनप्रतिनिधि विदेश कमाउन गएका छन् ।

बिर्तामोड १० का वडा सदस्य पंचधन राई र बिर्तामोड ६ की दलित महिला सदस्य शोभा विक पनि वैदेशिक रोजगारीमा गएका हुन् । बिर्तामोड वडा नं १० को वडा सदस्य बनेका राई एक वर्षमै राजीनामा दिएर कोरिया पुगेका छन् । त्यस्तै गत वर्ष नै बिर्तामोड ६ की दलित महिला सदस्य शोभा विक खाडी राष्ट्र गएकी छन् ।

बिर्तामोड नगरपालिकामा ५२ जना निर्वाचित र ३ जना मनोनित गरी ५५ जना जनप्रतिनिधि रहेका थिए । चारजना विदेश कमाउन गएपछि अहिले ५१ जनामा सीमित भएका छन् ।

जनतालाई धोका दिएर विदेसिने चारजना जनप्रतिनिधिमध्ये एमाले र कांग्रेसका दुई–दुईजना रहेका छन् । तर ती जनप्रतिनिधिहरुलाई ती दुई दलले अहिलेसम्म कार्वाही गरेका छैनन् । जनप्रतिनिधि छोडेर विदेसिनेहरुलाई कार्वाही किन नगरेको भनेर जिज्ञासा राख्दा एकजना कांग्रेसका नगरस्तरीय नेताले भोट बिग्रिन्छ भनेर कार्वाही नगरेको भित्री कुरा बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्