झापा, असार २६ । लागूऔषधको लागि देशकै ट्रान्जिट पोइन्ट बनेको झापामा प्रयोगकर्ताभन्दा कारोबारीको चलखेल बढ्न थालेको छ ।

लागूऔषधको कारोबार बढिरहँदा तीन दिनमा ४६५ ग्राम ब्राउनसुगरसहित चारजना कारोबारी पक्राउ परेका छन् । तीन दिनदेखि लगातार ठूलो परिमाणसहित कारोबारीहरु पक्राउ पर्दै गएका हुन् । जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका कारोबारीहरुलाई बरामद लागूऔषधसहित सार्वजनिक गरेको छ ।

गएराति १२.३० बजे झापा गाउँपालिका वडा न.४ स्थित सुकुमबासी बस्तीमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका कनकाई नगरपालिका वडा न.१ दुर्गापुर बस्ने ३७ वर्षीय पवन ऋषिदेबलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्ने क्रममा उनी चढेर आएको साइकलको टायरभित्र ट्युवमा लुकाएर ल्याउँदै गरेको प्लाष्टिकबाहेक १६७ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई आज जिल्ला अदालत झापाबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

त्यस्तै हिजो दिउँसो ४ः३० बजे झापा गाउँपालिका वडा न.१ सुडुघुट्टीमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरीक्षक किरण मोक्तानको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट साइकल चलाई नेपालतर्फ आउँदै गरेका भारतको बिहार किसनगंज जिल्ला सिंगीमारी पञ्चायत वडा न.५ बस्ने ६० वर्षीय गबरी साहलाई शंका लागेर चेकजाँच गर्दा उनले लगाएको ट्रयाकसुटको बायाँ साईडको गोजीमा लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिकबाहेक ९३ ग्राम ३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई पनि आज जिल्ला अदालत झापाबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।

त्यस्तै मंगलवार साँझ ५.२० बजे भद्रपुर वडा न.७ चिया पसलनजिक हुलाकी लोकमार्गमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिशेष सूचनाको आधारमा दुईजना कारोबारीलाई पक्राउ गरेको थियो । चिया पसल अगाडी शंकास्पद रुपमा रहेको अवस्थामा चेकजाँच गर्न खोज्दा प्रहरीमाथि हातपात गरी भाग्न खोज्दा नियन्त्रणमा लिनको लागि पेस्तोलबाट जम्मा ६ राउण्ड गोली फायर गरी उनीहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरुको साथबाट जम्मा प्लाष्टिकबाहेक २०५ ग्राम ८० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो ।

पक्राउ पर्नेहरुमा भारत बिहार राज्य, किशनगञ्ज जिल्ला बस्ने ३५ वर्षीय मनिसुर आलम र कचनकवल गाउँपालिका वडा नं. ५ बस्ने ५५ वर्षीय नशरुदिन मियाँ रहेका छन् । पक्राउ गर्ने क्रममा मियाँको दाहिने खुट्टाको पिडँुलामा १ राउण्ड गोली हानिएको थियो । उनलाई ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा सामान्य उपचार गरिएको थियो ।

जिल्लामा लागूऔषधको कारोबार बढ्दै गएपछि झापा प्रहरीको ध्यान अब लागूऔषध प्रयोगकर्ताभन्दा कारोबारीतर्फ केन्द्रित भएको डीएसपी खड्काले बताए । उनले लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरी निर्ममताका साथ लागेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्