झापा,असार २७ । सुनको आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन हुने भएको छ ।

सुनको कोटा र सिफारिस प्रणालीमा विकृति बढेपछि व्यवसायीले बिक्रीका आधारमा सुन आयात खुला गर्न माग गर्दै आएका छन् । व्यवसायीको मागका आधारमा वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ, राष्ट्र बैंक, बैंकर संघ, नेपाल उद्योग वाणिज्य महासंघसहितको प्रतिनिधित्व रहने गरी समिति गठन भइसकेको छ । सोही समितिको प्रतिवेदनअनुसार पुनरावलोकन गर्न लागिएको हो ।
‘अध्ययन प्रतिवेदनको सिफारिसका आधारमा सरकारको समन्वयमा सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गरिनेछ,’ शुक्रबार गभर्नर विश्वनाथ पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिमा भनिएको छ ।
अहिले वाणिज्य बैंकले आयात गरेको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघ, रत्न तथा आभूषण महासंघ, हस्तकला महासंघ र नेपाल कला व्यवसायी संघको सिफारिसमा मात्रै गहना व्यवसायीले किन्न पाउँछन् ।