झापा, असार २८ । आज विहान ११ बजे गृहजिल्ला झापा आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओली दिनभरजसो झापा र इलामको अलग अलग कार्यक्रममा व्यस्त भए ।

विहान झापाको बुद्धशान्ति ३ मा रहेको भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली इलाम प्रस्थान गरेका थिए ।

नेपालकै पहिलो महिला प्रधानपञ्च भागीरथा न्यौपानेको स्मृतिमा उनका छोराछोरीले बुद्धशान्ति गाउँपालिका वडा नं. ३ निःशुल्क प्रदान गरेको १५ कठ्ठा जग्गामा निर्माण गरिएको अस्पतालको प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।
स्व. भागीरथा न्यौपाने तत्कालीन बुधवारे गाउँ पञ्चायतको प्रधानपञ्च थिइन् । उनकै स्मृतिमा अस्पतालको नामकरण गरिएको बुद्धशान्ति गाउँपालिका एवम् अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मनोज प्रसाईले बताए ।

६ करोड ५० लाख रुपैयाँको लागतमा १० शैयाको अस्पताल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उपचार सेवाबाट कोही पनि नागरिक वञ्चित हुनु नपरोस् भनेर सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको स्पष्ट पारे ।
उनले यस अस्पतालको सञ्चालनपछि बुद्धशान्ति गाउँपालिकाका बासिन्दाले गुणस्तरीय र भरपर्दो आधारभूत स्वास्थ्य सेवा आफ्नै गाउँमा पाउने विश्वास व्यक्त गरे ।

झापाको अस्पताल उद्घाटनपछि प्रधानमन्त्री ओलीले इलाम पुगेर माई नगरपालिकामा नवनिर्मित माई नगर अस्पतालको उद्घाटन गरे ।

करिब दश करोड रुपैयाँको लागतमा १५ शैय्याको अस्पताल निर्माण गरिएको थियो । अस्पतालबाट आकस्मिक, आधारभूत प्रयोगशाला, एक्स–रे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा सञ्चालन हुने जनाइएको छ । यस्तै प्रधानमन्त्री ओलीले माई नगरपालिकाको वडा नम्बर १ देखि १० सम्म जोड्ने गरी निर्माण गर्न लागिएको माई वृहत खानेपानी आयोजनाको शिलान्याससमेत गरेका छन् । यो आयोजनाको लागत करिब २५ करोड रुपैयाँ रहेको छ ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले माई ४ का अव्यवस्थित बसोबासीलाई र भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेका छन् । यो वडाका १५२ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीलाई नगरपालिकाको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र आर्थिक सम्भाव्यताका विषयमा तयार गरिएकोे माई नगरपालिकाको वृत्तचित्र देखाइएको थियो ।

वृत्तचित्र हेरेपछि प्रधानमन्त्री ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै धेरै सम्भावना बोकेको माई नगरपालिकामा भइरहेका विकासका कामले समृद्धिको आधार तयार गरेको बताए । माई नगरप्रमुख खम्बसिंह लिम्बूले प्रधानमन्त्रीलाई बुुझाएको विभिन्न प्रस्तावहरुका विषयमा सम्बोधन गर्दै ओलीले अबको दुुई वर्षभित्र माई नगरबासीलाई शुद्ध खानेपानी पाउने विश्वास दिलाए । प्रधानमन्त्री ओलीले माई नगर भएर गएको मदन भण्डारी राजमार्ग नसोचेको र कल्पना नगरेको ढंगले निर्माण भएको धारणा राखेका थिए । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, कोशीका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, यस्तै कोशीका आर्थिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी लगायत संघीय तथा प्रदेश सांसदहरुको उपस्थिति रहेको थियो ।

इलामबाट सोझै प्रधानमन्त्री झापा झरेर कन्काई नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सहभागी भए । भूमि समस्या समाधान आयोग जिल्ला समिति झापाले कन्काई नगरपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी प्रमाण —पुर्जा वितरण कार्यक्रममा जग्गाधनी प्रमाण —पुर्जा वितरण गरे ।
२०८ जनालाई जग्गाधनी प्रमाण —पुर्जा वितरण गर्ने भनिए पनि समय अभावका कारण प्रधानमन्त्री ओलीले पाँच जनालाई प्रदान गरेर विधिवत उद्घाटन गरेका थिए । कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोख्रेलको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्