झापा, असार २९ । मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट आज बिहान एकजना महिलाको मृत्यु भएको छ ।


बेलबारी नगरपालिका–८ बाँसबारीकी अन्दाजी ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । उनका अनुसार अमिनासहित ३५ वर्षीया बन्दना राजवंशी आफ्नै घरनजिकको खेतमा पानी लगाउन गएका बेला बिहानको राति ३ बजेतिर हात्तीले अमिनालाई आक्रमण गरेको थियो ।

पैनीबाट पानी ल्याउने क्रममा जंगली हात्तीले आक्रमण गर्दा अमिना गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल लगिएको थियो । उपचारका क्रममा बिहान ८ः४० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

अमिनालाई हात्तीले आक्रमण गरेपछि बन्दनाले भने भागेर ज्यान जोगाएकी थिइन् । स्थानीयले होहल्ला गर्न थालेपछि हात्ती जंगलतिर लागेको थियो । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्