बिर्तामोड , असार २९ । बिर्तामोड नगरपालिकाको चालु आर्थिक वर्ष २०८१–८२ मा ३ करोड ३५ लाखभन्दा बढी बजेट फ्रिज भएको छ ।

संघीय र प्रदेशबाट आएको ३ करोड ३५ लाख १३ हजार ९८७ रुपैयाँ बजेट फ्रिज भएको हो । नगरपालिकाले प्रदेशको बजेट प्रायः अधिकांश खर्च गरेको छ भने संघीय बजेट केही फिर्ता गएको हो ।

संघीय बजेट ६३ करोड ८८ लाख ८८ हजार रुपैयाँ छुट्टिएकोमा ५४ करोड ६ लाख ४० हजार ३५९ रुपैयाँ निकासा भएको थियो । त्यसमध्ये ३ करोड २३ लाख ९३ हजार ५१६ रुपैयाँ खर्च हुन नसकी फिर्ता गएको हो । बुट्टावारी– प्याकुरेल सडकको १ करोड ७२ लाख , विराटपोखरी पर्यटकीय प्रवर्द्धनको ३९ लाख , सुन्दर सामुदायिक भवनको डीपीआरको लागि आएको ५० लाख रुपैयाँ फ्रिज भएको हो ।

त्यस्तै प्रदेशको ११लाख २० हजार ४७१ रुपैयाँ बजेट फिर्ता भएको छ । काली मन्दिर स्तरोन्नति बिर्तामोड १ को ५ लाख , स्थानीय तहको साझेदारीमा बाल कल्याण गृहमा आश्रित बालबालिकाका लागि संस्थागत अनुदानको २ लाख रुपैयाँ फ्रिज भएको नगरपालिकाको लेखा शाखाले जनाएको छ ।

यस वर्ष अधिकांश योजनालाई समयमै पूरा गरी धेरै बजेट फ्रिज हुनबाट जोगाएको प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले बताए । उनले केही योजना शुरु नै गर्न नपाई बजेट फिर्ता गएको र धेरै योजना कम रकममा ठेक्का लगाई बजेट उबारेर फिर्ता पठाएको जानकारी दिए ।

चालु आवमा बिर्तामोड नगरपालिकाको बजेट १ अर्ब ४४ करोड ५५ लाख ७८ हजार ५४७ रुपैयाँको थियो । त्यसमध्ये १ अर्ब १६ करोड ४० लाख ६१ हजार ५३१ रुपैयाँ अर्थात ८०.५२ प्रतिशत खर्च भएको हो । बजेटमा चालुतर्फ ५८ करोड ३ लाख ४६ हजार ८९४ रुपैयाँ अर्थात ८७.३३ प्रतिशत र पुँजीगततर्फ ५८ करोड ३७ लाख १४ हजार ६३८ रुपैयाँ अर्थात ७४.७३ प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्