झापा, असार २९ । झापामा लम्पी स्किनको संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन ।

जिल्लाका १५ वटै पालिकामा लम्पी स्किनको संक्रमण फैलिरहँदा हालसम्म ११ हजार ६०६ वटा पशु चौपाया संक्रमित भएका छन् । हालसम्म झापामा यस रोगका कारण २३६ वटा गाईगोरु र भैसी मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाले जनाएको छ । यसअघि १४५ वटा पशु चौपाया मरेकोमा यो साता ९१ वटा मरेका हुन् ।
गत साताको तुलनामा यो साता केही कम पशु चौपाया प्रभावित भएका छन् । यसअघि १० हजार ९२ वटा चौपाया प्रभावित भएका थिए भने यो साता २ हजार १४३ वटा चौपाया प्रभावित भएका छन् ।
जिल्लामा सबैभन्दा धेरै बाह्रदशी र मेचीनगरमा संक्रमण देखिएको छ भने अन्य पालिकाको तुलनामा गौरादह , दमक र हल्दिवारीमा संक्रमणको अवस्था कम छ । लम्पी स्किनबाट गाईगोरुसंगै भैसी र राँगा पनि प्रभावित भएका छन् । अहिलेसम्म दुईवटा भैसी र राँगामा लम्पी स्किन देखिएको छ ।
पशु सेवा विज्ञ केन्द्र झापाकी कार्यालय प्रमुख शीतल भट्टराईले लम्पी स्किनविरुद्धको भ्याक्सिन लगाउने कार्य जारी रहेको बताएकी छन् । उनले अहिलेसम्म ८७ हजार २६५ वटा पशुलाई भ्याक्सिन लगाइएको जानकारी दिइन् ।
दुई वर्षअघि झापामा लम्पी स्किन रोगले महामारीकै रूप लिएको थियो । त्यसबेला ३५ हजार एक सयभन्दा धेरै गाईभैंसीमा लम्पी स्किन संक्रमण देखिएको थियो भने ४ हजार ६ सय ८५ पशुको मृत्यु भएको थियो ।