झापा, असार २९ । मोटर जोड्ने क्रममा करेन्ट लागेर बिर्तामोड १० मा एकजनाको मृत्यु भएको छ ।

आज राति ८ बजे बिर्तामोड १० पथरभिट्टा बस्ने ५३ वर्षीय पुष्प पोखरेलले आफ्नो नयाँ बनाउँदै गरेको घरमा पानी हाल्नको लागि मोटर जोड्ने क्रममा अचानक करेन्ट लागेको थियो ।
घाइते पोखरेललाई उपचारको लागि उनका छिमेकी भवानी घिमिरेले बीएण्डसी अस्पताल बिर्तामोड ल्याएकोमा डाक्टरले मृत घोषणा गरेका छन् । मृतकको शव बीएण्डसी अस्पतालमै रहेको छ ।
मृतक घरमा एक्लै बस्ने गरेका थिए । उनको परिवार पाँचथरमा बस्ने गरेका छन् । थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएको छ ।