झापा,असार ३० । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) का नेपाल तथा भुटान हेर्ने प्रतिनिधि केन सिमिजुबीच सोमबार भेटवार्ता भएको छ।


मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन भएका परियोजनाहरूमा सहयोग पु¥याएकोमा एफएओप्रति धन्यवाद ज्ञापन गरे। साथै, उनले प्रदेशका मध्यपहाडी जिल्लाहरूमा वातावरणीय प्रभाव न्यूनीकरण, उच्च मूल्यका फलफूल उत्पादन, बजारीकरण र व्यवस्थापनमा सहयोग गर्न आग्रह गरे।
‘कृषि, जलवायु र विपद् व्यवस्थापन जस्ता क्षेत्रमा सहकार्य गर्दै अगाडि बढ्न सके उल्लेखनीय उपलब्धि हासिल गर्न सकिन्छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘कोशी प्रदेश हिमाल, पहाड र तराईले युक्त जैविक र भौगोलिक विविधतायुक्त प्रदेश हो, जलवायु र कृषि उत्पादनका क्षेत्रमा धेरै सम्भावना बोकेको छ।’
एफएओका प्रतिनिधि केन सिमिजुले प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्न आफूहरू तयार रहेको बताए। उनले कोशी प्रदेशमै सम्पर्क कार्यालय स्थापना गरी सहकार्यलाई थप प्रभावकारी बनाउने योजना रहेको जानकारी दिए।
उनले जैविक विविधता, माटो संरक्षण, चुरे क्षेत्रको वातावरणीय प्रभाव न्यूनीकरणलगायत विषयमा एफएओले कोशी प्रदेशमा काम गरिरहेको उल्लेख गर्दै आगामी योजनाहरूमा समेत सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्