झापा, असार ३० । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले बहिष्कार गरेपछि अर्जुनधारा नगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ ।

आज बिहान बस्ने गरी तय भएको बैठक कांग्रेसका तर्फबाट निर्वाचित ७ जना वडाध्यक्षहरुले बहिष्कार गरेका हुन् । बिहानको बैठक अपरान्हका लागि सारिएकोमा सो बैठकमा समेत आफूहरु सहभागी नहुने नेपाली कांग्रेस अर्जुनधाराका प्रवक्ता तथा वडा नं. ९ का अध्यक्ष भिष्म मिश्रले बताए ।

अर्जुनधारा ५ का वडाध्यक्ष गीताराज खड्का (हरि) माथि लागेको आरोपका सम्बन्धमा नगर प्रमुख र उपप्रमुखले कुनै पहल नगरेको भन्दै कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले नगर बैठक बहिष्कार गर्ने यसअघि नै निर्णय गरेका थिए । नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको असार २२ गते बसेको आकस्मिक बैठकले अर्को निर्देशन नभएसम्म अर्जुनधारा नगरपालिकाको बैठकमा पार्टीका तर्फबाट निर्वाचित वडाध्यक्षहरु सहभागी नहुने निर्णय गरेको नगर सभापति हेमप्रसाद खरेलले बताए । अर्जुनधारा नगरपालिकामा वडा नं १ बाट उपेन्द्र बस्नेत , २ बाट सिद्धार्थ श्रेष्ठ , ३ बाट सिताराम भट्टराई , ४ बाट अमरबहादुर कट्वाल , ५ बाट गीताराज खड्का (हरि), ६ बाट हरिश्चन्द्र बास्तोला र वडा नं ९ बाट भिष्म मिश्र गरी ७ जना वडाध्यक्ष रहेका छन् । ५५ सदस्यीय नगर कार्यपालिकामा कांग्रेसका १४ जना रहेका छन् ।

अर्जुनधारा ५ का वडाध्यक्ष खड्का र जिल्ला समन्वय समितिकी सदस्य रिता नेपालीबीचको विवादका कारण सत्ता साझेदार कांग्रेस र एमालेबीच सम्बन्ध चिसिएको हो । नेपाली काँग्रेस अर्जुनधारा नगर समितिको सो आकस्मिक बैठकले एमालेसंगको राजनीतिक संयन्त्रमा अब उप्रान्त कुनै सहकार्य नगर्ने निर्णयसमेत गरेको थियो ।

वडाध्यक्ष खड्काले रिता नेपालीको पर्खाल भत्काएको घटनालाई लिएर दुवैबीच विवाद भएको हो । जिल्ला समन्वय समितिकी सदस्य एवम् दलित नेतृ नेपालीले आफूमाथि वडाध्यक्ष खड्काले लामो समयदेखि जातीय विभेद र अभद्र व्यवहार गर्दै आएको आरोप लगाउँदै जातीय बिभेदको मुद्दा दर्ता गरेपछि दुवै सत्ता साझेदार दल आमनेसामने भएका छन् ।

गत बिहीवार नेपालीको पर्खाल भत्काइएको हो । रिता नेपाली र राजवंशी परिवारबीचको जग्गाको सीमा विवाद मिलाउन जाँदा आफ्नो पक्ष नलिएको भन्दै एमाले नेताको उक्साहटमा वडाध्यक्ष खड्काबिरुद्ध जातीय बिभेदको मुद्दा दर्ता गरिएको कांग्रेसको दावी छ ।

नेपालीले कांग्रेस अर्जुनधारा ५ का सभापति तथा वडाध्यक्ष खड्कासँगै छोरी सुनिता र उनकी आमा सुमित्रा राजवंशीमाथि मुद्दा दर्ता गरेकी छन् । सुनितालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने वडाध्यक्ष खड्का र सुमित्रा राजवंशी पक्राउ परेका छैनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्