झापा, असार ३१ । झापामा लागूऔषध मुद्धाका दुई फरार प्रतिवादी लागूऔषधसहितै पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा कनकाई नगरपालिका वडा न.४ बस्ने २९ वर्षीय मुस्ताक अन्सारी र कन्काई वडा न.३ बस्ने २४ वर्षीय सलिम आलम रहेका छन् । हिजो साँझ ५.५० बजे इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी बरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालको कमाण्डमा खटिएको टोलीले कनकाई ३ ह्याप्पील्याण्डबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुसंगै कन्काई वडा न.३ बस्ने २१ वर्षीय सुनिल यादव पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट प्लाष्टिकसहितको ६१० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।
झापा जिल्ला अदालतको गत मंसिर ९ गतेको फैसलाले मुस्ताक अन्सारीलाई ९ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । त्यस्तै झापा जिल्ला अदालतको सोही मितिको फैसलाले सलिम आलमलाई २ महिना २५ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।