झापा,असार ३१ । स्वास्थ्य बीमाको सेवा सुविधा लागु हुने समय अब छोट्टिने भएको छ ।

सरकारले स्वास्थ्य बीमा नियमावली, २०७५ को पहिलो संशोधन २०८२ अनुसार बिमित व्यक्तिले बीमामा दर्ता भएको महिनापश्चात् तेस्रो महिनाको पहिलो गतेदेखि बीमा सेवा–सुविधा लिनसक्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
नयाँ व्यवस्थाअनुसार बिमितले बीमा गरेको एक महिना भित्रमै सेवा लिन सक्नेछन् । बोर्डले आउदो १ साउनदेखि लागु हुनेगरी एक महिनाको अन्तरमा उपचार सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।
यसअघि बीमा आवद्ध भएका नागरिकले सेवा लिनका लागि ४ महिनासम्म कुर्नुपर्ने हुन्थ्यो । बोर्डका सूचना अधिकृत विकेश मल्ल ठकुरीले नयाँ व्यवस्थाले बिमितको उपचार सुविधा सुरु हुने समय घटेको बताए ।
‘पहिला वर्षको चार साइकलमा सेवा सुरु हुने गरेको थियो । वैशाख, जेठमा बिमित भएकाले भदौबाट मात्रै सेवा पाउँथे ।
साउन, भदौ भएकाले मंसिरबाट सेवा पाउँथे,’ मल्लले स्पष्ट पाँदै भने, ‘बिमित भएको तीन–चार महिनापछि मात्रै सेवा पाउँथे ।’ तर, अहिलेको नयाँ व्यवस्था अनुसार १२ साइकलमा कार्यक्रम सुरु हुँदैछ ।
यसले महिना दिनकै अन्तरमा उपचार लिन सक्नेछन् । बीमामा जुन महिनामा दर्ता भएको हो, त्यस महिनालाई पहिलो महिना मानिनेछ ।
त्यसपछि आउने तेस्रो महिनाको पहिलो मितिबाट नै बीमाले प्रदान गर्ने सेवा तथा सुविधाहरू प्राप्त गर्न सकिनेछ । यो नियम १ साउन २०८२ देखि लागु हुनेछ ।
बोर्डले जारी गरेको सूचनामा ‘जुन महिना बीमामा दर्ता भएको हो, सो महिनालाई पहिलो महिना मानी सो पश्चात्को तेस्रो महिनाको १ गतेदेखि नै बिमितको सेवा–सुविधा लागू हुनेछ,’ भनिएको छ ।