झापा,असार ३१ । सुर्तीजन्य पदार्थको खोलमा शतप्रतिशत चेतावनीमूलक चित्र अनिवार्य बनाइएको छ ।

आगामी साउन १ गतेदेखि सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीहरूले बट्टा, प्याकेट, र्‍यापर्स, पेटी, पार्सल तथा प्याकेजिङमा चेतावनीमूलक चित्र शतप्रतिशत छाप्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी निर्देशिकामा उल्लेख छ ।
बाहिरी खोलको शतप्रतिशत भागमा खतराको चिह्नसहित अगाडि र पछाडिको भागमा चित्र अनिवार्य रूपमा छाप्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीले बताए । उनका अनुसार सुर्तीजन्य पदार्थको बाहिरी भागका लागि खतराको चिह्नसहित ६ वटा चित्र तयार पारिएको छ ।
सुर्तीजन्य पदार्थको बाहिरी खोलको ८० प्रतिशत भाग चित्रले ओगट्नुपर्नेछ भने २० प्रतिशत भागमा सन्देशहरू उल्लेख गर्नुपर्नेछ । जस्तैः ‘यसको सेवनले क्यान्सर हुन्छ’जस्ता अन्य सन्देशमूलक कुरा उल्लेख गर्नुपर्ने हुन्छ ।
विश्व स्वास्थ्य संगठनको विश्वव्यापी सुर्तीजन्य पदार्थ महामारी २०२५ प्रतिवेदनले चित्रसहितको स्वास्थ्य चेतावनीलाई सबैभन्दा उल्लेखनीय उपलब्धिका रूपमा देखाएको छ । यो डब्लूएचओ र एफसीटीसी ( फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रोल) अन्तर्गत एक प्रमुख उपाय हो ।
अहिले १ सय १० देशहरूले यसलाई अनिवार्य गरेका छन् भने २५ देशले सादा प्याकेजिङ ( प्लेन प्याकेजिङ) अपनाएका छन् ।
अध्ययनहरूले सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी, पार्सल तथा प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्दा खतराका डरलाग्दा चिह्नहरूको आकार बढाउँदै गएमा प्रयोगकर्ता घट्ने देखाएको छ । यस्तै प्रयोग गर्दै आइरहेका मानिसले छाड्ने र कहिल्यै प्रयोग नगरेका मानिस पनि प्रयोग गर्न हिचकिचाउने कुरा अध्ययनहरूले देखाएका छन् ।
त्यही आधारमा नेपाल सरकारले सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्स, पेटी, पार्सल तथा प्याकेजिङमा चेतावनीमूलक सन्देश शतप्रतिशत बनाएको सूचना अधिकारी डा. केसीको जिकिर छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्