झापा, असार ३२ । सहारा नेपालका कर्मचारीमाथि दुर्व्यवहार भएपछि झापा जिल्ला सहकारी संघले जिम्मेवार भई प्रस्तुत हुन सहकारीका संचालक, कर्मचारी तथा सदस्यहरुलाई आग्रह गरेको छ ।

संघले आज प्रेस विज्ञप्ति जारी गरी सहकारी संस्थामा अराजक गतिविधि गर्नेमाथि कडा निगरानी र दण्डीत गर्न राज्यसँग जोडदार माग गरेको छ । संस्थाले गरेको ताकेतामा कही असहमति भए त्यसको कानूनी पक्षबाट समस्याको हल निकाल्न सकिने हुँदाहुँदै व्यक्तिगत प्रतिशोधमा उत्रनु निन्दनीय भएको भन्दै विज्ञप्तिमा प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा संलग्न जो कोही व्यक्ति तथा समूह भए पनि प्रचलित कानून बमोजिम दोषीलाई कारवाही गरी कानूनको दायरामा ल्याउन जोडदार माग गरिएको छ ।
आइतवार दिउँसो सहारा नेपाल साकोसको मधुमल्ला सेवाकेन्द्र मोरङमा कार्यरत सेवाकेन्द्र प्रमुख रमेश राई र कर्मचारी सुशिला लामिछाने वि.क.लाई संस्थाका ऋणी सदस्य दुर्गामाया लिम्बू र माया मगरले भाखा नाघेको ऋणको तागेता गर्ने क्रममा गरेको दुर्व्यवहार गरेका थिए ।
सहारा नेपालका दुई कर्मचारीलाई जुत्ताको माला लगाइदिने र दुर्व्यवहार गर्ने ती दुई महिलाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उनीहरू दुवै हाल फरार रहेका छन् ।
माया मगरले जुत्ताको माला लगाइदिएकी थिइन् भने दुर्गामाया लिम्बूले सो घटनाको भिडियो खिचेकी थिइन् । उक्त भिडियो सामाजिक सञ्जालमा राखिएको थियो ।
