इलाम, असार ३२ । प्रहरी उपरीक्षक एकनारायण कोइरालाले कमाण्ड सम्हालेयता अपराध न्यूनीकरणमा इलाम प्रहरीलाई निकै सफलता मिलेको छ ।

गत माघ २० गतेदेखि जिल्ला प्रहरी कार्यालय इलामको प्रमुख भएर प्रहरी उपरीक्षक कोइरालाले कमाण्ड सम्हालेयता खासगरी आत्महत्या न्यूनीकरण , लागूऔषध नियन्त्रण , फरार प्रतिवादी पक्राउ , भन्सार चोरी पैठारी नियन्त्रणमा ठूलो उपलव्धी हासिल भएको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय इलामले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको तथ्यांकले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा अपराध घटेको र त्यसमा पनि कोइरालाले कमाण्ड सम्हालेको माघ २० यता उल्लेखनीय प्रगति भएको प्रमाणित गरेको हो ।

इलाममा आत्महत्याका घटनामा उल्लेखनीय कमी आएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्षमा आत्महत्याको घटना ३० प्रतिशतले घटेको हो।

प्रहरी प्रमुख कोइरालाले आफ्नो कार्यकालमा देखिएको यो सकारात्मक परिवर्तनलाई महत्वपूर्ण उपलब्धीको रूपमा प्रस्तुत गरे । तथ्यांक अनुसार, आर्थिक वर्ष २०८०÷८१ मा १२० वटा आत्महत्याका घटना दर्ता भएका थिए भने चालु वर्ष २०८१÷८२ मा घटेर संख्या ८४ मा झरेको छ । चालु आर्थिक वर्षलाई पनि विश्लेषण गर्ने हो भने माघ १९ सम्म महिला १० र बालिका २ सहित ५० जनाले आत्महत्या गरेका थिए । तर , माघ २० यता ९ महिला र बालिका ४ सहित ३४ जनाले मात्र आत्महत्या गरेका छन् ।

प्रमुख कोइरालाका अनुसार, यो सुधार प्रहरीको सक्रियता, समुदायसँगको समन्वय र जनचेतनामूलक कार्यक्रमहरूको प्रत्यक्ष परिणाम हो। विशेषगरी महिला र बालिकामा आत्महत्याको घटनामा देखिएको गिरावटले आत्महत्या न्यूनीकरण अभियान प्रभावकारी बनेको देखिन्छ ।

प्रहरीले आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना २०८१ अन्तर्गत जिल्लादेखि वडास्तरसम्म कार्यदलहरू गठन गरी सघन कार्यक्रम सञ्चालन गरेको छ।

जिल्लाभर ३५० भन्दा बढी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी आत्महत्याका कारण, संकेतहरू र रोकथाम उपायहरूबारे सचेतना फैलाइएको छ।

त्यस्तै, मानसिक तनाव व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालय इलाम परिसरमा कानुनी तथा मनोसामाजिक परामर्श कक्ष स्थापना गरिएको छ। यस कक्षले लागूऔषधसहित पक्राउ परेका व्यक्तिहरू मात्र नभई मानसिक रूपमा कमजोर अवस्थाका अन्य व्यक्तिहरूलाई पनि परामर्श सेवा दिँदै आएको छ ।


त्यस्तै लागूऔषधको बरामद मात्रालाई हेर्दा लागूऔषध नियन्त्रणमा प्रहरीको सक्रियता बढेको देखिएको छ । गत वर्ष २१.९३० ग्राम ब्राउनसुगर बरामद भएको थियो भने चालु वर्षमा २५.९६ ग्राम ब्राउनसुगर बरामद भएको छ । त्यस्तै यस वर्ष गाँजा ८१६ ग्राम , अफिम ३.३९ ग्राम , नाइट्रोसन ४ ट्याब्लेट , नाइट्रोसन १.२० ग्राम बरामद भएको छ ।

त्यस्तै फरार प्रतिवादी पक्राउको संख्या गत वर्षभन्दा ५१.३६ प्रतिशतले बढेको छ । गत वर्ष ७१ जना पक्राउ परेका थिए भने यस वर्ष १४६ जना पक्राउ परेका छन् । चालु वर्षमा माघ १९ अगाडि ४७ र त्यसयता ९९ जना पक्राउ परेका हुन् ।

त्यस्तै भन्सार चोरी पैठारीमा पनि प्रहरीले सफलता हात पारेको छ । गत वर्षको तुलनामा यस वर्ष ६३.७३ प्रतिशतले बढी भन्सार चोरी पैठारी नियन्त्रण गरिएको हो । गत वर्ष भन्सार चोरी पैठारी नियन्त्रण गर्नेक्रममा २५ लाख ४२ हजार ७३० रुपैयाँ राजश्व संकलन भएको थियो भने दुईवटा सवारी साधन र दुईजना मानिस पक्राउ परेका थिए ।

यस वर्ष ७० लाख २० हजार ५७० रुपैयाँ राजश्व संकलन भएको छ भने ३४ वटा सवारी साधन र ७ जना मानिस पक्राउ परेका छन् । त्यसमा माघ २० यता ४७ लाख५४ हजार ९२० रुपैयाँ सकलन भएको जनाइएको छ । माघ २० यता २२ वटा सवारी साधन र दुईजना मानिस पक्राउ परेका हुन् ।

पत्रकार सम्मेलनमा कर्तव्य ज्यान , जबरजस्ती करणी , सवारी ज्यान , अवैध काठ बरामद , हराएको मानिस खोजतलास , उजुरी दर्ता , महिला बालबालिकासम्बन्धी उजुरीलगायतको तथ्यांक पनि प्रस्तुत गरिएको थियो । विभिन्न ४ वटा जघन्य कसूरका सफल अनुसन्धानका बारेमा जानकारी दिइएको पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक मानबहादुर राई र प्रहरी निरीक्षक संजिव बोगटीको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्