
काँईलाले विदेश आउँदाको ऋण सम्झियो । खुई काढ्यो लामो सुस्केरा हाल्यो । दुबै हात टाउकोमा राखेर आकाश कन्यायो । गाउँका साहुको बडेमानको धम्कीको अत्यास सम्झियो । समयमै तिरिनस् भने यो लेखेको भन्दा डेढा ब्याज तिर्नुपर्छ नि काँईला । छेवैको पानीले भरिएको बोतल एकै सोट्ठामा घटघटी पारेर सिध्यायो । घरव्यवहार साथीभाई सम्झियो । मन सबै नेपालकै थुम्का– थुम्कामा छरपस्ट भयो । एउटा धर्केकापी र कलम लिएर लेख्न थाल्यो ।
‘प्यारी आमा
सास्टाङ्ग ढोग गरें ।
हजुर त बाह्रखरी नपढेकी मान्छे यो चिट्टी पढ्न जान्नुहुन्न मलाई थाहा छ । फेरी आँखाले पनि उस्तो भेउ पाउन छाड्यो होला हजुरकी बुहारीलाई चिट्ठी पढ्न लगाउनु ल आमा…. ।
आमा हजुरको न्यानो काखमा बसेर आफ्नै धर्तीमा खुसी साथ जीवन बिताउन मेरो शिक्षाले मलाई सीपको क्षमता दिएन । निरपेक्षहरु बिरगञ्ज, भैरहवा, नेपालगञ्ज र गड्डाचौकी जस्ता नाकाबाट भारतको भूमिमा रोजगारी खोज्न लर्को लागेको देख्छु । उपल्लो तहको पढाई भएकाहरु पनि त्रिभुवन एयरपोर्टमा लस्कर लागेर विदेशी भूमितिर लम्किरहेको ताँती देख्छु । नियमित जस्तो विदेशी टेलिभिजनको च्यानलतिर । सीपको क्षमता भएको भए , सुनको थलो छोडेर नुनको थलोमा पराईको नोकरमा बेचिनु पर्ने थिएन आमा…।’
लेख्न एकैछिन छाडेर आङ तन्कायो ,लामो श्वास तान्यो काँईलोले ।
‘हाम्रो पहाडमा फल्ने घरतरुल, दुधेपिंडालु अनि सिमल तरुलको औधी नै याद आउँछ । ती कन्दमुलहरु ऊ समयमा उसिनेर पोलेर पेटभरी खाईन्थ्यो । लटरम्म घँगरु, ऐसेलु पाक्थ्यो, गोठाले कामै सहि वनजङ्गलबाटै पेट भरेर घरमा आईन्थ्यो । घर आउनासाथ हजुरले हलुङ्गेको थालभरी भुटेका मकै अनि एकछेउमा छुस्स भटमास दिनुहुन्थ्यो आहा आमा ।’
‘चिप्लेटारको चौर अनि नरहाको जङ्गलमा काली बाख्रो, पेटारी बाख्रो, अनि तिनेरका जोर जोरै पाठा, बुर्कुसी मार्दै उफ्रिएको अनि पांग्रेखसी, रातुगाई चराएको झलझली याद आउँछ । मलाई त मधेश पनि छाडेर पहाडतिरै फेरी बसाई चढौ चढौ जस्तो लाग्छ आमा । ऊ बेला पहाडमा दुःख भयो मधेश जौ भन्नुभयो बाले मेरो पनि अलि मुटु नछिप्पिदैको कुरा हुनुपर्छ । मधेशमा काम गर्न अलि होलोखुकुलो हुन्छ भन्ने तपैले नि था’पाउनु भा’रैछ । ढाकर टेकान लाएर कुम्लो बोकेर सम्मतिर झरिहालियो । आबुई मधेशाँ त पानी फुकिखाने टाठाबाठा मान्छे हुँदारैछन् । ऐचो पैचौ पनि चल्ने नाई बाले पनि मधेश झरेको दुई बर्षमै हामीलाई छाडेर नआउने बाटो गैहाल्नु भयो ।हजुर हाम्रो कस्तो सकस जिन्दगी भयो है आमा । हो, अहिले निक्कै खतरनाक काम, अनि ओभरटायमको प्रतिस्पर्धा गरेर अरुको मुलुक धनी बनाएको महसुस हुँदा हृदय जल्छ, । तर के गरु मेरो धर्तीमा काम गर्ने वातावरण कसैले दिएन ।’
‘हाम्रो देशका शतप्रतिशत सहरहरु धुँवाधुलोको चपेटामा छन् भन्छन् ।सत्तरी प्रतिशत सार्वजनिक यातायातका कर्मचारीहरु अभद्र अनि अशिष्ठ भाषाको प्रयोग गरेर रुनु न हाँस्नु पार्छन् । नब्बे प्रतिशत खानेकुरा असुरक्षित तवरबाट बेचिन्छ । नब्बे प्रतिशत ताजा तरकारीजन्य पदार्थ खुल्ला धुलोधुँवा खरानी हिलो भुइँमा राखेर असुरक्षित तरिकाले बेचविखन हुन्छ । पानी तथा हावा बिषाक्त छ भनेर यता परदेशका विदेशी मान्छेहरु गाईगुइँ गर्छन् ।तपाईकी बुहारीले त्यहाँ दुःख छ भने भयो फर्कि आउनुस् यहि गरी खाउँला भनी घरिघरि भन्छे । तर ऋणको भारको कारणले यो बर्ष आउन सक्तिनँ आमा।’
‘हाम्रो देशाँ किसानको छोरो कुनै नोकरी बन्द वेपार नभएको मान्छेलाई छोरी नदिने संस्कृतिको विकास भएको पत्तो पाइएन । मेरो बिहा गर्न नै चार दशक उमेर कुर्नु परेको हजुरलाई थाहै छ । धन्न ती हजुरकी बुहारीका परिवार भर्खर भर्खरै पहाडबाट झोडामा झरेका रैछन् मेरै लागि छिप्पिएर बसेकी रैछन् र कन्या दिए । विदेशबाट डलर ल्याउने मान्छे हुन् कि ? कुन विदेशाँ गएका हुन् ? सरकारको कुन निकायमा नोकरी गर्दै छौ ? बन्दवेपार के छ ? केटी के गरि पाल्ने रैछन् त खास काम त केहि रैनछ ? मेरो बिषयमा हजुरहरुलाई हैरान पारेको मलाई भलिभाँती जानकारी नै छ । ठुला ठुला भैसी पालेर दुध बेचेर पैसा कमाइरहेको छु भन्दा त मान्छे नै हैन कि जस्तो ठान्दा रहेछन् । झण्डै कुनै सरकारी अड्डा अदालतमा विवाह गर्न कन्या खोजी पाउँ भनेर निवेदन हाल्न पर्थो, तर त्यो चै परेन । नत्र हाम्रो देशाँ किसानको खासा छोरोलाई त कन्या नपाएर अब बिहा गर्न नि कठिन भएछ आमा । पैसा कमाएर अर्को सालको दशैमा आउने छु ,अनि सहरमा घर किनेर खुसी साथ बसौला आमा । त्यो सकिएन भने पहाडै फर्किएर बाख्रापालन व्यवसाय चलाउँछु । हजुरकी बुहारीले काममा मलाई साथ दिन्छिन् भन्ने विश्वास लाग्छ । हजुरकी बुहारी कामकी भोकी निक्कै कम्कारी रैछिन् । त्यसपछि हजुरले घोर्ले नाति खेलाउन पनि पाउनु हुनेछ आमा । ’
‘म भने, अहिले यो विदेशाँ काममा मात्र हैन मानवता र आध्यात्मिकतालाई ह्रदयमा राखी समस्या समाधानमा सामूहिकता, समान व्यबहार प्रशंसा ,आत्मीयता, धैर्यता, सामाजिक प्रतिष्ठा, निष्पक्षता तथा वास्तविक न्याय, सामाजिक न्याय, सफलता र सकारात्मक काममा प्रतिष्पर्धा, तथा प्रशंसाको सर्टिफिकेट मानिसले कसरी प्राप्त गर्ने भन्ने विषयमा प्रत्येक नेपालीलाई सफलताको सिडी चढ्ने,चढाउने तौरतरिका सिकिरहेको छु । यहि सिकाईलाई नेपालमा यसरी लागु गर्ने लक्ष्यका साथ आउनेछु आमा ।’
‘आत्मा सन्तुष्टि, पारदर्शी, मित्रवत व्यवहार किन गर्ने र कसरी गर्नु पर्दछ, लक्ष्यको परिणाम र प्रतिफलमा कामको मापन कसरी गर्ने, प्रशंसाको पात्र कसरी बन्ने हो ।आम उपभोक्ताको हितको निम्ति के कस्ता उत्पादनका काम गर्ने, कस्तो लक्ष र उद्देश्यप्रति हामी सचेत हुने मानवीय विकासमा सकारात्मक सोच गराउने तथा नकारात्मक प्रभावबाट टाढा कसरी रहन सकिन्छ भन्ने विषयको जानकारी मानव जीवन र जगतप्रति कृतज्ञ हुने बानीको विकास गर्ने गराउने आफूले जानेको सीप र कलालाई अरु समक्ष बाँड्ने आफूले पनि प्रकृति र बिद्यमान संस्कृतिबाट सिक्ने बानीको विकास गर्ने असल सस्कृति निर्माणमा थप योगदान गर्ने उपायहरु अवलम्बन गर्ने खास जीवनको आधार मानव कल्याण पनि हो । त्यसैले आफूले जानेका सीपहरु समुदायमा योगदान पुर्याउने बिद्यमान समस्या समाधानमा सामूहिक पहल गर्ने । सामूहिक योगदानमा आधारित कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने भुइँमान्छे अनि निर्धाहरुको भोकको समाधान कसरी गर्ने भन्ने विषयमा प्रत्येक चौतारी, चियापसल, रङ्गशाला ,व्यायामशाला हाटबजारमा बहस चलाउने सकारात्मक सुझावलाई कार्यक्रममा समावेश गर्ने निरपेक्ष नागरिकको रोगको समाधानको सोच र सहयोगको विकास गर्ने चिन्तन मनन सोच र ब्यबहारलाई मानव उपयोगी बनाउने राजनीतिले लपेटेर भित्तासम्म पुर्याएको वर्तमान नेपाली समाजलाई छुद्र राजनीतिको लम्पट संस्कार र संस्कृतिबाट टाढा बस्न सिकाउने धन्य मेरो धरती मेरा मातापिता ,पुर्खा र समाजलाई जसले मलाई सिकायो । चेत दियो ।आमा मैले यी कुराहरु विदेश आएर सिकेका कुरा हुन् ।’
अर्को बोतलमा रहेको बाँकी थोरै पानी घटघटी काँईलाले सक्यो ।
‘आमा हामी कसरी स्वास्थ्य रहने भन्ने विषयमा थप केहि लेख्दैछु । हाम्रो मुलुकमा अन्न फलफुल, तरकारी, दुध मासु आदि पनि बिषाक्त छ । हामीले लिने श्वासप्रश्वास, बिषाक्त छ । त्यसै कारणले मधुमेह, छाला रोग, मुटुरोग क्यान्सर, टिबी. आदिले नेपालीहरुको त अस्पताल नै घर र औषधी नै भान्साको खाना भएको छ । हामी वरिपरिको प्रकृति समेत बिमारी छ । हाम्रो विविध संस्कृति बिमारी छ भन्ने कुरामा विदेशीको खरो आरोप पनि सुनियो देखियो ।’
‘त्यसैले म फर्केर आएपछि पहाडको गाउँमा फेरी बसाइँ जाने विचार पो जब्बर रुपमा बोकेर आउनेछु । त्यसपछि हाम्रो सुन्दर पहाडको त्यो गाउँमा रहेको खेतबारीमा मेहनत गरेर खेती गर्नेछु । त्यहाँबाट यथेष्ठ तरकारी तथा अमृत फलाएर खाने –खुवाउने । सर्बअन्न बनाई समुदायलाई सर्बामृत खुवाउने खाने । भुटेका मकै भटमास अनि सातु खाने । गहुँ ,जौ, चना, मकैका जमरा उमारी दैनिक नियमित सेवन गर्ने । ज्ञान, सीपको लागि उपभोक्ता पाठशाला ,आमा समूह पाठशाला सञ्चालनको वातावरण बनाउने । रासायनिक बिषादीको बेचविखन र कारोवार बन्द गर्ने गराउने। खानाको मेनू जारी गर्ने । शरीरलाई भिटामिनयुक्त पोषण अनिवार्य गर्ने गराउने। धेरै पटक टिप्न मिल्ने जस्तै, ब्रोकाउली, भिन्डी, सिमी, साग, गाँजर, चुकन्दर मुला, धनिया, पालक, लटे, बोझो, पुदेना, दतिवन, तुलसी, लज्जावती, भृङ्गीराज, अजम्मरी सजिवन ,अमृतबृक्षको करेसाबारी बनाउन अनिबार्य गर्ने । सामूहिक तथा चाक्लाबन्दी खेतीको विकास र विस्तार गर्ने । सुन्दर मेरो गाउँ सुन्दर मेरो घर कार्यक्रम चलाउने । घरको अनुशासन कसरी सञ्चालन गर्ने भन्ने विषयमा निम्नतम वातावरण तोक्ने । गाउँघर सरसफाई अभियान तल उल्लेख गरे बमोजिम चलाउने । ’
‘घरेलु फोहर व्यबस्थापनबाट सुन्दर शहर बनाउने ।सड्ने र नसड्ने फोहरको व्यबस्थापनमा परिवारको दायित्व हुने । माटोबाट लिएको सापटी माटोमै फिर्ता कार्यक्रम सञ्चालन गर्ने । मलबाट ऊर्जा र माटो व्यबस्थापन भू–संरक्षण र माटो व्यवस्थापनमा नागरिक परिचालन गर्ने । वातावरण सरसफाई र मानव स्वास्थ्य रक्षा गर्ने । आमा, ,सहर व्यबस्थापनका मुख्य–मुख्य योजना र सर्तहरु यस प्रकार हुनेछन् ।’
‘घर–घरमा कौशी तरकारी खेती र नर्सरी व्यबस्थापनबाट नमूना सहर निर्माण गर्ने । आमा पाठशाला, चेतना पाठशाला, वातावरण पाठशाला, बनाउने र कार्यक्रम संचालन गर्ने ।रासायनिक बिषादि र प्लाष्टिकको समूचित व्यवस्थापन गर्ने । प्रदूषण फैलाउने जुनसुकै कच्चा पदार्थ जलाउन प्रतिबन्ध लगाउने । अर्गानिक विषादीको उत्पादन र प्रयोग गर्ने ।कपडा वा प्लाष्टिक बाहेकका कच्चा पदार्थबाट झोला बनाएर प्रयोग गर्ने आनीवानीको विकास गर्ने। अज्र्ञानिक टोल, गाउँ, शहर घोषणा गर्ने । प्रत्येक घर–घरको निम्नतम वातावरण नागरिक आफैले तयार गर्ने ।’
‘अन्त्यमा, आमा…
हामी नेपालीले स्वर्गको अनुपम टुक्रा जस्तै सबैखाले भूगोल, हावापानी र जैविक विविधता भएको अनुपम अनि समृद्ध देश पाएका छौ । तर हाम्रो अशिक्षा गरिबी र चेतना स्तरको कमीले गर्दा विदेशीको मुलुकमा दास श्रमिकको रुपमा मेशिन जस्तै सञ्चालित छौ । त्यसैलाई मान प्रतिष्ठा अनि गर्वको उचाई ठानेका छौ । मेरो छोरो÷ छोरी, ज्वाइँ उता युरोप, अमेरिका, डेनमार्क अनि अस्ट्रेलिया छन् भनेर धक्कुको पकुवा हालेर हामी मर्ने समयमा तातोपानी मुखमा नपर्ने कित्तामा अग्रसरतापूर्वक हौसिएका छौ । हाम्रा अगुवाहरु, नीति निर्माताहरुबाट धेरै तमासका गुलिया कुरा अति धेरै सुन्यौ ।अहिले त लाग्छ हाम्रो पुस्ताको बर्षौको समय त्यसै घर्कियो । समुन्नत मुलुक र नागरिक नदेख्न सतिले सरापेको देश भएर हो कि के हो, त्यसैले म मिहिनेतपूर्वक मुलुक बनाउन चाँडै आउने छु आमा…।’
हवाईजहाज भुइँमा लेण्ड हुँदाको घर्षणको उफ्राईमा काँईलो झल्याँस ब्युँझियो । कोरिया जान हिडेको काँईलो दलालका बेइमानीका कारणले बिराटनगर एयरपोर्टमा अबतरण भयो । काँईलाको सपना आज पनि फेरी अधुरै रह्यो…। धन्यवाद ।
–हाल भद्रपुर–१०, झापा ।