वीरु दर्नाल
झापा । पण्डित भिमकान्त भागवत पन्थी एक कार्यक्रमका विच राष्ट्रिय पुरस्कारद्वारा सम्मानित भएका छन् ।

गुल्मी निवासी पण्डित पन्थीलाई हिजो काठमाडौमा आयोजित कार्यक्रममा संस्कृति , नागरिक तथा उड्डयन मन्त्री बद्री पाण्डेले सम्मान गरेका हुन् ।
जातीय बिभेद उन्मूलन आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको नाममा स्थापित “भगत सर्वजित मानव मर्यादा ”राष्ट्रिय पुरस्कारद्वारा पण्डित पन्थीलाई सम्मान गरिएको हो ।
पण्डित पन्थीले लामो समयदेखि नेपाली समाजमा रहेको जातीय विभेदबिरुद्ध सार्वजनिक रुपमा आवाज उठाएर समतामुलक समाज निर्माणमा सचेतनापूर्ण अभियान चलाउँदै आएका छन् ।
ब्राम्हण कुलमा जन्मिएर ख्यातिप्राप्त पुराण बाचक पण्डित पन्थीले हिन्दु धर्मका सबै ग्रन्थले कुनै पनि जातिलाई सानो ठुलो भनेर श्रेणी विभाजन गरेको छैन र विभेदयुक्त समाज हिन्दु धर्मले अंगिकार गरेको छैन भन्दै सबै जात जातिलाई समानताको मालामा जोड्न हरेक पुराण तथा सार्वजनिक कार्यक्रममा बोल्दै आएका छन् ।
उनको यो अभिव्यक्तिलाई हिन्दु धर्मभित्रकै पण्डितहरुले साथ नदिएर उल्टै आरोप लगाउने गरेको गुनासो पण्डित पन्थीको छ । त्यस्ता पण्डितहरुमा ज्ञानको अभाव भएको बताउँदै कतिपयसँग प्रतिवाद गर्दै कानूनको सहायता लिएको उनी बताउँछन् ।
हिन्दु धर्मभित्रै रहेका पहाडे दलित जातिमा समेत एक अर्का जातिबिच पण्डित्याई नगर्ने स्वघोषित चलनलाई चुनौति दिँदै दलित बनाइएका जातिहरुको परिवारमा उनले धेरै कर्महरु गरेर आफैंबाट बिभेदबिरुद्धको अभियान चलाएका छन् । पण्डित पन्थीले जातीय छुवाछुत नमान्ने र अरुलाई पनि नमान्न सचेत गराउँदै समतामुलक समाज निर्माणमा जोड दिएका छन् ।